सिंहदरबारमा छड्के, १२ कर्मचारी कारबाहीका लागि ‘नोटिस’ मा

काठमाडौं, जेठ ३२ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका कर्मचारीहरू कार्यालय समयमा हाजिर गरेर हिँड्ने गरेका कारण सेवाग्राहीलाई दुःख हैरानी भएको गुनासो बढेपछि राष्ट्रिय सतर्कता केन्द्रले बुधवार र बिहीबार दक्षिण गेटमा छड्के अनुगमन गरेको छ।
कार्यालय समयमा दिनभरी क्यान्टिनमा गफ गरेर बस्ने, निजी कामका लागि दिनभर कार्यालय छाड्ने, अन्य बिषयमा डिल गर्ने, गैरजिम्मेवार रहने जस्ता गुनासाका आधारमा छड्के गरिएको हो। बुधवार गरिएको छड्केपछि गैरजिम्मेवार १२ जना कर्मचारीलाई कारवाहीका लागि नोटिसमा लिएको छ। नेपाल प्रहरी र राष्ट्रिय सतर्कता प्रहरीले संयुक्त रूपमा सिंहदरवारको मुट गेटमा बिहानैबाट छड्के अनुगमन गरिरहेको छ।
उक्त छड्के कार्यालय समय सकिने बेलासम्म जारी रहने सतर्कता केन्द्रका कर्मचारीले जनाएका छन् । छड्के अनुगमनका क्रममा कर्मचारीहरू हाजिर गरेर बाहिर निस्किने, कार्यालयको काममा चासो नदिने, निजी कामका लागि कार्यालय छाड्ने, नीजि काम सकेर कार्यालय फर्किने जस्ता समस्या भेटिएका छन् ।
सतर्कता केन्द्रले बुधवार पनि कार्यालय समयमा क्यान्टिनमा बसेर समय बिताउने कर्मचारीमाथि अनुगमन गर्दै विवरण लिएको थियो । त्यसक्रममा काम गर्नुपर्ने समयमा क्यान्टिनमा गफ गरेर बस्ने १२ जना कर्मचारीलाई नोटिसमा लिइएको थियो। छड्के अनुगमनपछि कार्यालय छाडेर हिंड्ने कर्मचारीलाई कारवाहीका लागि विस्तृत विवरण नै तयार गरी सचिवलाई बुझाइने भएको छ।











