Kathmandu Press

सूचना निकालेर शहरी क्षेत्रमा सडक खन्न रोक

सरकारी निकायबीच तालमेल र समन्वयको अभावमा सहरी क्षेत्रमा सडक खन्ने र भत्काउने कार्यले सडक समस्या निम्तिएको भन्दै गुनासो बढीरहेको सन्दर्भमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले सूचनै निकालेर सडक खन्न रोकेको हो। 
सूचना निकालेर शहरी क्षेत्रमा सडक खन्न रोक

काठमाडौं, जेठ ३२ : संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले सूचना निकालेर शुक्रवार (असार १) गतेदेखि तीन महिनासम्मका लागि सडक खन्न रोक लगाएको छ।

आगामी भदौ मसान्तसम्म शहरी क्षेत्रमा सडक खन्न पाइने छैन। सरकारी निकायबीच तालमेल र समन्वयको अभावमा सहरी क्षेत्रमा सडक खन्ने र भत्काउने कार्यले सडक समस्या निम्तिएको भन्दै गुनासो बढीरहेको सन्दर्भमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले सूचनै निकालेर सडक खन्न रोकेको हो। 

धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्ने कार्यले वर्षायाममा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने सूचनामा उल्लेख छ। बर्षा याममा खन्दा सडक पनि थप बिग्रिदै जाने कार्यालयले जनाएको छ। ‘यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय

अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ,’ सूचनामा उल्लेख छ। 

कार्यालयका अनुसार वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको हो। 

प्रकाशित मिति: १४:२४ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्