Kathmandu Press

वान एक्स बेटमा विज्ञापन गरेको आरोपमा हास्य कलाकार बल्छी धुर्बेसहित ८ जना पक्राउ

पक्राउ परेकाहरूका बारेमा औपचारिक जानकारी गराएको छैन। उनीहरूमाथि सोधपुछ चलिरहेको बताइएको छ।
वान एक्स बेटमा विज्ञापन गरेको आरोपमा हास्य कलाकार बल्छी धुर्बेसहित ८ जना पक्राउ

काठमाडौं, जेठ ३२ : वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गरेको आरोपमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूमाथि सामाजिक सञ्जालका भिडियोमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। उनीहरुलाई बुधबार पक्राउ गरिएको हाे।

पक्राउ परेकाहरूका बारेमा औपचारिक जानकारी गराएको छैन। स्राेतका अनुसार पक्राउ पर्नेमा राजु पौडेल, पवन खितवडा, एलिस राई, ज्वलन घर्ती मगर, गणेश देवकोटा र सरोज घिमिरे छन्। उनीहरूमाथि सोधपुछ चलिरहेको बताइएको छ। उनीहरुले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको बताइएको छ।

बुधबार मात्र कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्कालाई विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टका रुपमा सक्रिय भएको आरोपमा पक्राउ गरिएको थियो। 

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ। सरकारले नेपालमा अनलाइन सट्टेबाजी गराउने वनएक्स बेटलगायत वेबसाइटमाथि प्रतिबन्ध लगाएकाे छ। तर अनलाइनमार्फत सट्टेबाजी गर्ने/गराउने प्रवृत्तिमा नियन्त्रण हुन सकेको छैन।

प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्