Kathmandu Press

पर्यटनमन्त्री सुदन किरातीले भ्रष्टाचारीको संरक्षण गरेको प्रेम आलेको आरोप

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पर्यटनमन्त्रीले बिचौलिया पोसेको आरोप पनि लगाए।
पर्यटनमन्त्री सुदन किरातीले भ्रष्टाचारीको संरक्षण गरेको प्रेम आलेको आरोप

काठमाडौं, जेठ ३२ : सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्को सत्तारूढ दल माओवादी केन्द्रबाट पर्यटनमन्त्री बनेका सुदन किरातीमाथि भ्रष्टाचारीको संरक्षण गरेको भन्दै टिप्पणी गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पर्यटनमन्त्रीले बिचौलिया पोसेको आरोप पनि लगाए। उनले अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथमा पसेको र त्यसलाई मन्त्री किरातीले जोगाएको बताए। ‘पशुपतिनाथमा पटकपटक यसबीचमा भएका चोरी र लुटपाटमा संलग्नलाई मन्त्री किरातीले जोगाए,’ उनले भने। 

उनले पशुपति विकास कोषले चोरीको छानबिन गरेको प्रतिवेदन मन्त्रीले गायब पारेको भन्दै छानबिन समितिका संयोजक देवी बराललाई कोषको सदस्यबाट हटाएर भ्रष्टाचारीको संरक्षण गरेको बताए।

मन्त्री किरातीमाथि गोठाटारको ५३५ रोपनी जग्गामध्ये ३१ रोपनी जग्गा बिचौलियासँगको मिलेमतोमा अपचलन गरी उनैलाई कोषको सदस्य बनाएको दाबी उनले गरे। गोठाटार जग्गाको सत्यतथ्य बाहिर ल्याउनेलाई हटाउने प्रयास भइरहेको जिकिरसमेत उनले गरे।

किरातीलाई ‘स्टन्ट मन्त्री’ को संज्ञा दिँदै आलेले भने,  ‘नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड महालेखाको प्रतिवेदनमा देखिएको छ। ऋण ५० अर्ब नाघेको छ। तर तीन महिनामा ३ अर्ब कमायो भनेर पर्यटनमन्त्रीले झुटो बोले। संसदमा स्पष्ट जानकारी गराइयोस् ।’ थन्किएर बसेको जहाजको व्यवस्थापन गर्न मन्त्री किरातीलाई चुनौती दिए।

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्