Kathmandu Press

सांसद रघुजी पन्तकाे प्रश्न- धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ?

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समय लिएर बोलेका उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिएको अन्तर्वार्तामा उल्लेख विचारले नेपालको परराष्ट्र नीतिमाथि प्रश्नहरू खडा गरेको बताए।
सांसद रघुजी पन्तकाे प्रश्न- धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ?

काठमाडौं, जेठ ३२ : एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपालको परराष्ट्र नीति खलबलिन लागेको देखिएकाे भन्दै आपत्ति जनाएका छन्। 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समय लिएर बोलेका उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिएको अन्तर्वार्तामा उल्लेख विचारले नेपालको परराष्ट्र नीतिमाथि प्रश्नहरू खडा गरेको बताए।

‘नेपाल लामो समयदेखि नै आफ्नो असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै आएको छ। पञ्चायत आयो, गयो, बहुदल आयो, लोकतन्त्र आयो, नयाँ संविधान बन्यो । तर नेपालले कहिल्यै पनि परराष्ट्र नीतिमा फेरबदल ल्याएको छैन,’ उनले भने, ‘तर पछिल्लो समय प्रधानमन्त्री भारत भ्रमणमा गएर फर्किएपछि त्यसमा खलबल हुन थालेको अनुभूति भइरहेको छ कि नेपालको परराष्ट्र नीति फेरबदल हुन लागेको हो?’

उनले विदेश सम्बन्धलाई सञ्चालन गर्नेबारे सरकारको नीति स्पष्ट नहुँदा समस्या आउन थालेको बताए । ‘प्रधानमन्त्री भ्रमणमा हाम्रा प्रधानमन्त्री, मन्त्रीहरूले गेरुवा वस्त्र लगाएपछि अब त हुँदाहुँदा हाम्रा राजदूतले पनि विचारमा गेरुवावस्त्र लगाएको देखिन्छ। जेठ २९ को कान्तिपुर दैनिकमा हाम्रा राजदूत शंकर शर्माको अन्तरवार्ता छ,' उनले भने, 'त्यसमा उहाँले व्यक्त गरेका केही विचारले नेपालको परराष्ट्र नीति कता गइरहेको छ? भारतमा प्रधानमन्त्रीले केके कुरा गर्नुभयो? सरकारले उहाँलाई के निर्देशन दिएको छ? भनेर आशंका पैदा भएको छ। कूटनीतिक दृष्टिकोणले आपत्तिजनक कुराहरू उहाँले राख्नुभएको छ।’

राजदूत शर्माले घुमाउरोमा भाषामा हिन्दु राष्ट्रको वकालत गरेको आरोप उनले लगाए। त्यसले नेपालको धर्म निरेपेक्षताको नीतिमा प्रश्न खडा गरेको उनले बताए। नेपाल सरकारबाट नियुक्त राजदूतबाट हिन्दु राज्यको वकालत गर्नु परराष्ट्र नीति नहुने संकेत उनले गरे। पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरे। प्रतिनिधिसभाको आजको बैठकमा उनले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गरे। उनले भने ,'धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ? यो संसद्लाई स्पष्ट पारियोस्।'

राजदूत शर्माले इपिजीको प्रतिवेदनबारे व्यक्त गरेको धारणा पनि आपत्तिजनक रहेको उनले बताए। 'के इपिजीको प्रतिवेदन प्रभूत्व व्यक्ति समूहबारे राजदूतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छ ? गर्छ भने यो आपत्तिजनक र खेदपूर्ण छ ।' सांसद पन्तले राजदूत शर्माले बिआरआइलाई ‘लोन ट्रयाप’ जनाउँदै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए।

 

 

प्रकाशित मिति: १२:०२ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्