रास्वपाको प्रस्तावित राजनीतिक दस्तावेज : समाजवादी धरामा उभिने, मुख्यमन्त्री होइन निर्वाचित गभर्नर
रास्वपाले निर्दलीय राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । १० वर्षसम्म राजनीतिक दलको सदस्य नरहेको गैरदलीय व्यक्ति राष्ट्रपतिका लागि योग्य हुने उसले बताएको छ।
काठमाडौं, जेठ ३१ : राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीका राजनीतिक दस्तावेज तयार पारेको छ। ६२ पृष्ठ लामो प्रस्तावित राजनीतिक दस्तावेजमा आफूलाई समाजवादी धारमा उभ्याउने उल्लेख छ। रास्वपाले वैचारिक आधार ‘संवैधानिक समाजवाद’लाई बनाइएको छ।
‘राज्य सञ्चालनका लागि एउटा विचार आवश्यक पर्छ, त्यही विचार नै समाजवाद हो,’ प्रस्तावित दस्तावेजमा भनिएको छ, ‘नेपालको सन्दर्भमा समाजवाद भनेको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, स्वतन्त्रता र सार्वजनिक पूर्वाधार विकास हो।’
आफ्नो पार्टीले संवैधानिक समाजवादलाई रोज्ने बताउँदै ‘नयाँ युगको संकल्प’ शीर्षकमा संविधानवादका आधारभूत तत्त्वहरुलाई मार्गचित्र बनाई संविधानवादको पूर्णपालनाद्वारा मात्र समाजवादको गन्तव्यमा पुग्न सकिन्छ भन्ने निष्कर्ष नै संवैधानिक समाजवाद हो भएको रास्वपाले जनाएको छ।
यस्तै, रास्वपाले निर्दलीय राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । १० वर्षसम्म राजनीतिक दलको सदस्य नरहेको गैरदलीय व्यक्ति राष्ट्रपतिका लागि योग्य हुने उसले बताएको छ। राष्ट्रपतिलाई संघ र स्थानीय तहका जनप्रतिनिधिहरुको निर्वाचक मण्डलले चुन्ने र प्रधानमन्त्रीचाहिँ प्रत्यक्ष निर्वाचित हुने उसको प्रस्ताव छ।
यसैगरी रास्वपाले प्रदेशसभा, मुख्यमन्त्री र जिल्ला समन्वय सम्बन्धी व्यवस्था खारेज गर्ने प्रस्ताव गरेको छ। उसले प्रदेशमा ५० प्रतिशत भन्दा बढी मत ल्याएर प्रत्यक्ष निर्वाचित प्रदेश गभर्नर चयन गर्ने र उसले उपगभर्नर मनोनित गर्ने प्रस्ताव गरेको छ। प्रदेशसभाको साटो स्थानीय पालिकाका जनप्रतिनिधिहरु रहने प्रदेश परिषद्को प्रस्ताव गरिएको छ। प्रदेश गर्भनरले ५० प्रतिशत मत नकटाए दुई उम्मेदवारबीच पुनः निर्वाचन गरिने रास्वपाको प्रस्ताव छ।
यसैसाता आयोजना हुने केन्द्रीय सदस्य, सांसदहरु र प्रदेश कमिटीका सभापतिहरू सम्मिलित कार्यशालाबाट यो दस्ताबेज पारित गर्ने रास्वपाको तयारी छ। दस्ताबेजलाई पूर्णता दिन उसले पार्टी कार्यकर्ताहरुबाट सुझाव मागेको छ।











