Kathmandu Press

खाणको प्रतिरक्षामा अधिवक्ताले भने– कोही पीडित भएको देखाउँदैन, राजनीतिक भविष्य ड्यामेज गर्ने नियत मात्र

खाणको प्रतिरक्षा गर्दै पूर्व महान्यायाधिवक्ता रहेका वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले भुटानी शरणार्थी प्रकरणमा खाणबाट कोही पीडित नभएको जिकिर गर्दै मुद्दामा फसाइएको दाबी गरे।
खाणको प्रतिरक्षामा अधिवक्ताले भने– कोही पीडित भएको देखाउँदैन, राजनीतिक भविष्य ड्यामेज गर्ने नियत मात्र

काठमाडौं, जेठ ३१ : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा मुद्दा चलाइएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षा बहस सकिएको छ। खाणको प्रतिरक्षाका लागि बुधबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, खम्मबहादुर खाती, गोपालाकृष्ण घिमिरे, सुरेन्द्र महतो र ललितकुमार बस्नेतले बहस गरेका थिए।

खाणको प्रतिरक्षा गर्दै पूर्व महान्यायाधिवक्ता रहेका वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले भुटानी शरणार्थी प्रकरणमा खाणबाट कोही पीडित नभएको जिकिर गर्दै मुद्दामा फसाइएको दाबी गरे। उनले जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले पेनड्राइभमा दिएको अभियोगपत्र कपी पेस्ट गरेर जस्ताको तस्तै ल्याएको बताए।

‘जाहेरवालाले अभियोगपत्रमा कसलाई रकम दिए भन्ने नै उल्लेख छैन । यसैले पुष्टि गर्छ यो अभियोगपत्र हावादारी हो’, जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा प्रतिरक्षा बहस गर्दै खातीले भने, ‘यो प्रकरणमा बालकृष्ण खाँणबाट कोही पनि पीडित भएकै छैन । बिगो कसलाई तिर्नुपर्ने हो भनेर पनि केही खुल्दैन । बिगो लिने कोही त चाहियो नि, श्रीमान्। बालकृष्ण खाण निर्दोष हुन्।’

बहसका क्रममा खातीले निर्दोष व्यक्तिलाई फसाउने गरी अभियोग तयार पार्ने अधिकारीलाई पनि कानुनअनुसार कारबाही हुनुपर्ने माग समेत गरे। ‘सरकारी वकिल र प्रहरीको गलत निर्णयले निर्दोष मान्छेले दुःख पाउनुपर्ने अवस्था आएको छ,’ उनले भने।

अर्का वरिष्ठ अधिवक्ता घिमिरेले पनि बिचौलियाले खाणलाई पैसा दिएको प्रमाण कहीँ कतै नभएको दाबी गर्दै खाणलाई साधारण तारेखमा राख्न माग गरे। नेपाल बार एसोसियसनका अध्यक्ष समेत रहेका घिमिरेको जिकिर थियो, ‘बिचौलियाले बालकृष्ण खाणलाई पैसा दिएको प्रमाण कहीँ छैन । केशव दुलालको बयानमा मन्त्रालयमै लगेर १ करोड २४ दिएको भनिएको छ । कुन मितिमा दिएको हो ? गृहमन्त्रालयमा सीसीटीभी छ । १ करोड २४ लाख पैसा बोक्न झोला चाहिन्छ । कस्तो झोलामा दिएको हो ? गृहमन्त्रालयको मूलगेटमा कसको गाडीमा छिरेको हो ? प्रमाण चाहिन्छ । फसाउने गरी आरोप लगाउन पाइँदैन।’

घिमिरेले कांग्रेसमा सम्भावना भएका नेताको राजनीतिक करिअर ड्यामेज गर्ने नियतका साथ मुद्दा चलाइएको भनाई पनि वहशमा राखे । उनले भने, ‘भोलि बालकृष्ण खाँण प्रधानन्त्री र पार्टी सभापति बन्न सक्छ भनेर उनलाई ड्यामेज गर्नका लागि मुद्दा लगाइएको छ । यो राजनीतिक क्षतिको भर्पाई भोलि कसले गर्छ?’

मंगलबार पनि खाणका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले प्रतिरक्षा गरेका थिए । वरिष्ठ अधिवक्ता यादवले अदालतमा खाणले गरेको इन्कारी बयान अनुसन्धानमा प्राप्त दसी भन्दा विपरीत नभएकाले निर्दोष रहेको भन्दै साधारण तारेखमा राख्न माग गरे।

यस्तै वरिष्ठ अधिवक्ता खड्काले अभियोगपत्र हेर्दा खाणको विश्वसनीयता सिध्याउन खोजेको देखिएको जिकिर लिए । वहशमा उनले भने, ‘खाणलाई सिध्याउन सचिव टेकनारायण पाण्डेलाई दोस्रो पटक बयानमा पोल्न बाध्य पारिएको छ।’

 

प्रकाशित मिति: १८:४२ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्