Kathmandu Press

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिएकाहरूले छलफल गर्न मानेनन्

भोलि (बिहीबार) कार्कीको संसदीय सुनुवाइ हुने तयारी समितिले गरेको छ। त्यसको अघिल्लो दिन आज (बुधबार) उजुरीकर्ताहरूलाई छलफलमा बोलाइएको थियो।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिएकाहरूले छलफल गर्न मानेनन्

काठमाडौं, जेठ ३१ : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका उजुरीकर्ताले छलफल गर्न अस्वीकार गरेका छन्।

भोलि (बिहीबार) कार्कीको संसदीय सुनुवाइ हुने तयारी समितिले गरेको छ। त्यसको अघिल्लो दिन आज (बुधबार) उजुरीकर्ताहरूलाई छलफलमा बोलाइएको थियो।

तर प्रधानन्यायाधीशमा कार्कीको सिफारिसको निर्णय र संसदीय सुनुवाइको वैधानिकतामाथि प्रश्न उठाउँदै छलफल गर्न अस्वीकार गरेका थिए।

बुधबार संसदीय सुनुवाइ समितिले उजुरीकर्ताका तर्फबाट श्रीकृष्ण भट्टराई, ध्रुवलाल श्रेष्ठ, अमृत खरेललाई छलफलमा बोलाएको थियो। उनीहरुले सबै उजुरीकर्तासँग सामूहिक छलफल हुनुपर्ने माग पनि राखेका छन्।

करिब २० मिनेटसम्म संसदीय सुनुवाइ समितिसँग छलफलमा बसे पनि उजुरीको विषयमा छलफल हुन सकेन। त्यसपछि समितिले समय सकियो भन्दै उनीहरुलाई बाहिर पठाएको बताइएको छ। सामूहिक छलफलको माग गर्ने २० उजुरीकर्ता बाहिरिएका छन्। बाँकी उजुरीकर्तासँग छलफल जारी रहेको संसदीय सुनुवाइ समितिले जनाएको छ।

सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । 

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्