नेपाल मेडिकल कलेजकाे ओपिडी सेवा अनिश्चितकालका लागि बन्द
बिरामीका आफन्तले अस्पताल तोडफोड गरेपछि साे कार्यमा संलग्नलाई कारबाही नभएसम्म ओपिडी सेवा अनिश्चितकालका लागि बन्द गरेकाे हाे।
काठमाडौं, जेठ ३१ : अत्तरखेलस्थित नेपाल मेडिकल कलेजकाे ओपिडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ।
बिरामीका आफन्तले अस्पताल तोडफोड गरेपछि साे कार्यमा संलग्नलाई कारबाही नभएसम्म ओपिडी सेवा अनिश्चितकालका लागि बन्द गरेकाे हाे।
अस्पतालले प्रशासनले आज सूचना जारी गरेर तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जानकारी दिएकाे हाे।
‘अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीलाई कुटपिट गर्ने अप्रिय शब्द प्रयोग गरी अस्पताल सुचारु हुन नदिने काम भयो,’ सूचनामा भनिएको छ, ‘तत्काल यस्ता अवाञ्छित तत्वहरुलाई नियन्त्रणमा लिई कारवाही हुन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म यस अस्पतालको इमर्जेन्सीबाहेक सम्पूर्ण ओपिडि सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।’
पित्तथैलीको शल्यक्रिया लागि भर्ना भएका गोकर्णेश्वर नगरपालिका माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धितालका आफन्तले मंगलबार अस्पताल तोडफोड गरेका थिए। धिताललाई आइतबार भर्ना गगरिएको थियो। उपचारका क्रममा धितालको स्वास्थ्य अवस्था जटिल हुँदा पनि चिकित्सकले जानकारी नगराएको भन्दै उनका आफन्त तोडफोडमा उत्रिएका थिए। अस्पतालका अनुसार धितालको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ।
बिरामीका आफन्तले अस्पताल परिसरमा नाराजुलुस, हुलहज्जत गरी अस्पताले तोडफोडजस्ता अवाञ्छित क्रियाकलाप गरेको प्रशासनको भनाइ छ।












