Kathmandu Press

नयाँ नेकपा बनाउने प्रयास भइरहेको छ : प्रचण्ड

‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ।’
नयाँ नेकपा बनाउने प्रयास भइरहेको छ : प्रचण्ड

दाङ, जेठ ३१ : प्रधानमन्त्री एवं  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुमा समाजवादी मोर्चा बनाएर नयाँ नेकपा बनाउने प्रयास भइरहेको बताएका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आज (बुधबार) आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे उनले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चा बनाउने तयारी भइरहेको बताएका हुन्। त्यसका लागि दस्तावेज पनि टुंगो लगाइसकेको उनको भनाइ थियो। समाजवादी क्रान्तिको आधार तयार पार्न सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउने पनि उनले स्पष्ट पारे।

‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो हिजोको एकता टिक्न सकेन । फेरि एकताका प्रयास गर्दैछौं । समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौं,' उनले भने, ‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ।’

एमालेसँग एकता गरेर बनाएको नेकपा सफल नभएकाले फेरि अर्को नेकपा बनाउने कोसिस भइरहेको उनको भनाइ थियो।  ‘हिजोको एकता कायम राख्न सम्भव भएन,’ उनले भने, ‘फेरि नेकपा बनाउने कोसिस भइरहेको छ।’ यस्तो गर्नुको ठुलो अर्थ रहेको उनले बताए।

सो क्रममा दाहालले एमालेप्रति पनि टिप्पणी गरे। एमालेमा एकताका पक्षधर रहे पनि मूल नेतृत्व नै बाधक देखिएको आरोप लगाए। मूल नेतृत्व फेरिए एमाले पनि एकतामा आउने दाबी उनको थियो।

‘एमालेमा पनि एकताका पक्षधरहरू छन्। नेतृत्व परिवर्तन भए एमाले पनि एकताको पक्षमा आउँछ। त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ,’ दाहालले भने।

प्रकाशित मिति: १२:४१ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्