‘भ्रष्टाचार र बेथितिविरुद्ध कसैसँग सम्झौता हुँदैन, बरु सरकार छाड्न तयार छु’
दिवंगत माओवादी नेता डीआर पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा उनले भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन्।
काठमाडाैं, जेठ ३१ : प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र बेथितिविरुद्ध कसैसँग सम्झौता नगर्ने बताएका छन् । दिवंगत माओवादी नेता डीआर पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा उनले भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन्।
भ्रष्टाचार र बेथिति नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत हुने भन्दै सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै गलत सम्झौता नगर्ने बताए।
सुशासनका लागि सरकार दृढतापूर्वक अगाडि बढेको बताए । उनले भने, ‘सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ। कतिपयले आशंका गरिरहेका छन्, म प्रष्ट रूपमा भन्छु– सरकार मेरा लागि ठूलो कुरा होइन। ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो। भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति–सम्झौता ऐतिहासिक भएको प्रधानमन्त्री दाहालले बताए ।
एकथरीले भ्रष्टाचारविरुद्ध लड्ने हामी हौं भनेर जनतामा भ्रम सिर्जना गर्न खोजेको र असली राष्ट्रवादी म हुँ भनेर प्रचार गर्न खोजेको उनले बताए । घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको भएपनि प्रचार भने कम भएको उनले बताए।











