Kathmandu Press

जलहरी विवादमा कोषका सदस्यसचिवले रूँदै भने- सुन जोख्नुस्, नपुगे मृत्युदण्डका लागि तयार छु

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले आफूलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाइएको भन्दै सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए।
जलहरी विवादमा कोषका सदस्यसचिवले रूँदै भने- सुन जोख्नुस्, नपुगे मृत्युदण्डका लागि तयार छु

काठमाडौं, जेठ ३० : पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायव गरेको भए आफू जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका छन्।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले आफूलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाइएको भन्दै सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए।

‘१० किलो सुनका कारण मेरो बेइज्जत भएको छ । सुन जोख्दा हुन्छ, नपुगे मृत्युदण्ड भोग्न पनि तयार छु,’ समितिमा जवाफ दिँदा भावुक बनेका हुनले भने। सदस्यसचिव थापाले यस विषयमा न्याय माग्न आत्महत्या गर्नुपर्ने हो भन्दै प्रश्न पनि गरे।

‘राष्ट्र बैंकसँगको सम्झौताअनुसार १०३ केजी सुन ल्याएको हो । तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको हुँ । जलहरी लगाउँदा २४ घण्टा नेपाली सेना तैनाथी गरिएको थियो,’ उनले भने, ‘अदालतबाट सुनको जलहरी हाल्न हुँदैन भनेर प्रदेश सांसद नरोतम वैद्यले ‘स्टे अर्डर’ ल्याएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो सुन जलहरीका लागि तयारी नभएको हुँदा माइनुटमा मात्रै नलेखिएको र उक्त १० किलो पशुपतिनाथ मन्दिरमा नै छ।’

उनले यथार्थ नबुझी आफुलाई सुन चोर भनेर टिप्पणी गरेको गुनासो गदैृ आफु निकै पीडित भएको बताए।

समितिले राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्र विकास कोषको सम्पत्ती र यसको उपयोग सम्बन्धमा मंगलबार कोषका पदाधिकारीसँग छलफल गरेको थियो ।

 

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्