Kathmandu Press

पार्टीलाई आवश्यक नयाँ नेतृत्वका लागि प्रयत्न गरिरहेकाे छु : महामन्त्री थापा

महामन्त्री थापाले पार्टीका नेता शेखर कोइरालासँग पार्टीको १४औं महाधिवेशनमा जस्तो सम्बन्ध थियो अहिले त्योभन्दा प्रगाढ बनेको र यो १५ औं महाधिवेशनसम्म रहने बताए ।
पार्टीलाई आवश्यक नयाँ नेतृत्वका लागि प्रयत्न गरिरहेकाे छु : महामन्त्री थापा

मोरङ, जेठ ३० : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले पार्टी जोगाउनका लागि नेतृत्व छाड्नुपर्ने बताएका छन् । विराटनगर पुगेका थापाले पत्रकारहरूसँगको कुराकानीमा यस्तो भनाई राखेका हुन् ।

पत्रकारसँग कुराकानी गर्नेक्रममा थापाले भने, ‘उहाँले अब पनि आफूले पार्टीको नेतृत्व नगरे पार्टी रहँदैन भन्ने मानसिकता त्याग्नुपर्छ । उहाँले पार्टीका लागि गरेको योगदानको हामीले कदर गर्छौं र जीवनपर्यन्त सम्झिरहन्छौं, तर पार्टीको हितका लागि नेतृत्व छाड्नुपर्छ ।’ थापाले सभापति देउवासँग आफ्नो कुनै आग्रह, पूर्वाग्रह नरहेको पनि बताए ।

थापाले कांग्रेसका आम कार्यकर्ता, शुभेच्छुक र समर्थकको चाहना र देशको आवश्यकता बताउँदै सभापति देउवा नेतृत्वबाट हट्नुपर्ने भनाई समेत राखे । ‘जति छिटो नेतृत्वबाट हट्नु हुन्छ त्यति धेरै उहाँ र पार्टीको हितमा हुन्छ भन्ने छ,’ महामन्त्री थापाले भने । थापाले संसद्को ५ वर्षे कार्यकालमा कांग्रेसको नेतृत्वमा फेरी एकपटक सरकार बन्ने बताउँदै थापाले त्यति बेला देशको प्रधानमन्त्रीका लागि पनि सभापति देउवाले विकल्प दिनुपर्ने समेत बताएका छन् ।

उनले भने, ‘सभापतिज्यूले प्रधानमन्त्रीको रुपमा ५-६ पटक काम गरिसक्नुभएकाले उहाँले देश र जनताका लागि कामको सम्मान गर्दै अब देशले कांग्रेसबाट कुनैपनि नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेको छ । त्यसैले सभापति देउवालाई पार्टीको नेतृत्व र देशको प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गरिदिन आग्रह छ, जुन सभापति र पार्टी दुवैको हितमा हुन्छ ।’

उनले पार्टीलाई आवश्यक नयाँ नेतृत्वका लागि आफूले प्रयत्न गरिरहेको समेत बताए । थापाले भने, ‘त्यसमा कुनै किसिमको नाफा र घाटाको हिसाब हुँदैन ।’ काँग्रेसमा नेतृत्व परिवर्तन हुँदा अहिले आएका चुनौतीहरूबाट पार लगाउन सकिने अन्यथा चुनौतीले थिचिने भएकाले परिवर्तनको पक्षमा लागेको प्रश्टीकरण पनि उनले पत्रकारलाई दिए ।

महामन्त्री थापाले पार्टीका नेता शेखर कोइरालासँग पार्टीको १४औं महाधिवेशनमा जस्तो सम्बन्ध थियो अहिले त्योभन्दा प्रगाढ बनेको र यो १५ औं महाधिवेशनसम्म रहने बताए । ‘१४ औं महाधिवेशनमा जति साथी थियौं, पार्टीको १५ औं महाधिवेशनसम्म त्यसमा थपिन्छ तर एक जना पनि कम हुँदैन,’ उनले भने, ‘कोइराला र सभापति देउवाबीचको सबन्धबारे टिप्पणी गर्न उचित हुँदैन ।’ सभापति देउवासँग आफ्नो सम्बन्ध पनि नराम्रो नभएको उनले सुनाए ।

 

प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्