‘लोकतन्त्रलाई सुदृढ तुल्याउन राजनीतिक इमान्दारी अपरिहार्य’
राजनीतिक दलभित्र प्रणाली सुधार गर्नुपर्ने बताउँदै उनले पार्टीभित्र जनप्रतिनिधि चयनमा विभिन्न चलखेल हुने गरेको उल्लेख गरे । उनले समानुपातिक टिकट वितरणमा ठूलो समस्या प्रजातान्त्रिक पार्टीमै भएको बताए ।
चितवन, जेठ २९ : पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई सुदृढ तुल्याउन विधिको शासन र राजनीतिक मूल्यमान्यताको असल अभ्यासलाई स्थापित गर्न जरुरी भएको बताएका छन्।
शैलजा आचार्य आदर्श समाजले चितवनमा आयोजना गरेको ‘शैलजा आचार्यको प्रेरणा र सान्दर्भिकता : भ्रष्टाचार विरोधी हाम्रो प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले राजनीतिक दलभित्र देखिएका विकृतिलाई सुधार गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको दिशामा सबै अग्रसर हुनुपर्नेमा जोड दिए।
‘लोकतान्त्रिक प्रणाली रह्यो भने समग्र शासन प्रणाली राम्रो हुन्छ’, पूर्वराष्ट्रपति यादवले भने, ‘त्यसैले प्रणाली बचाएर गयो भने सुधार हुन्छ, अहिले युवापुस्तामा छटपटी बढेको छ । पुराना नेताको योगदान र कदरलाई आत्मसात् गरेर अघि बढ्न सकेमात्र लोकतन्त्र बलियो हुन्छ।’
राजनीतिमा निष्ठा र इमान्दारीको खडेरी परेको टिप्पणी गर्दै उनले गठबन्धन संस्कृति, राज्य संयन्त्र, संवैधानिक निकायलगायतमा भागबन्डा र दलगत स्वार्थको संस्कृतिले लोकतन्त्रलाई कमजोर तुल्याउने बताए।
‘राजनीतिमा लाग्ने व्यक्तिले जनतालाई सर्वोपरि ठानेर आफ्नो निष्ठा र समर्पण भावका साथ अगाडि बढाउनुपर्छ। राजनीतिक पार्टीभित्रै प्रणालीको सुधार हुनुपर्छ । जबसम्म विधि र कानूनको शासन सही ढङ्गले जाँदैन र नेतृत्व सही ढङ्गले अघि बढ्दैन तबसम्म प्रणाली र पद्धति स्थापित हुन सक्दैन,’ उनले भने।
पूर्वराष्ट्रपति यादवले प्रजातन्त्र र लोकतन्त्रलाई स्थापित गर्न भूमिका निर्वाह गर्नुभएका निष्ठावान् राजनीतिज्ञ शैलजा आचार्यको त्याग र योगदानलाई नेतृत्वले अनुसरण गरेर युवापुस्तामाझ पुस्तान्तरण गर्नसकेको खण्डमा उहाँप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरे।
राजनीतिक दलभित्र प्रणाली सुधार गर्नुपर्ने बताउँदै उनले पार्टीभित्र जनप्रतिनिधि चयनमा विभिन्न चलखेल हुने गरेको उल्लेख गरे । उनले समानुपातिक टिकट वितरणमा ठूलो समस्या प्रजातान्त्रिक पार्टीमै भएको बताए ।











