मधेस प्रदेशमा पनि राम्रो बजेट विनियोजन गरिएको छ : अर्थमन्त्री
सहरी विकास र खानेपानीतर्फ समेत उल्लेख्य रकम मधेस प्रदेशमा विनियोजन भएको उनको भनाइ छ।
काठमाडाैं, जेठ २९ : अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेस प्रदेशमा पनि राम्रो बजेट विनियोजन गरिएको स्पष्ट पारेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘पूर्व-पश्चिम राजमार्ग, पथलैया-वीरगञ्ज कोरिडोर, चन्द्रपुर-गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिन, बागमती, कमला, चन्द्र नहरलगायतका सिंचाई आयोजनालगायत मधेश प्रदेश लक्षित राष्ट्रिय गौरव तथा ठूला आयोजनामा उल्लेख्य रकम विनियोजन भएको छ।’
अर्थमन्त्री डा. महतले तराई मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्गमा पनि उल्लेख्य बजेट विनियोजन भएको बताउँदै उनले विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजना मधेश प्रदेसमै सञ्चालित रहेको बताए। सहरी विकास र खानेपानीतर्फ समेत उल्लेख्य रकम मधेस प्रदेशमा विनियोजन भएको उनको भनाइ छ।
मधेस प्रदेशमा ठूलो जनसंख्या भएकाले सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पनि बजेटको ठूलो हिस्सा विनियोजन हुने गरेको छ । प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण हेर्दा कूल वित्तीय हस्तान्तरणको करिब १५ प्रतिशत मधेस प्रदेशमा गएको उनको भनाइ छ।











