अर्थमन्त्रीले भने- गाँजाबाट अरू देशले यसको फाइदा उठाउँदा नेपाल पुरानै मानसिकता लिएर नबस्ने कि !
‘यसको कानुनी अड्चनहरू पनि हटाउनुपर्यो। त्यसपछि कुन मोडेलमा अगाडि लग्ने भन्ने पनि छ। अहिले त औषधिजन्य प्रयोजनको लागि मात्र अध्ययन गर्ने भनेको हौं।’
काठमाडौं, जेठ २९ : अर्थमन्त्री डा. प्रकाशशरण महतले कसरी गाँजाखेती गर्न सकिन्छ भनेर अध्ययन गर्न बजेट विनियोजन गरिएको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा २०८०र८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। ‘गाँजाखेतीलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, यो विषयमा गम्भीर होऔँ भनेर अध्ययन गरौँ भनेको हो। एकैपटक खेती गरिहाल्ने, भोलिदेखि नै सुरु गर्ने भनेको छैन,’ उनले भने, ‘यसको कानुनी अड्चनहरू पनि हटाउनुपर्यो। त्यसपछि कुन मोडेलमा अगाडि लग्ने भन्ने पनि छ। अहिले त औषधिजन्य प्रयोजनको लागि मात्र अध्ययन गर्ने भनेको हौं।’
अरू देशले यसको फाइदा उठाउँदा नेपाल पुरानै मानसिकता लिएर बस्न नहुने उनको भनानइ थियो। पहिले गाँजाखेती बन्द गरेका देशहरूले अहिले त्यसैको व्यापार गरिरहेको उनले बताए।
‘गाँजाखेतीबारे चर्चा भयो। पूर्वप्रधानमन्त्रीले समेत प्रश्न उठाउनुभयो। जुन देशहरूले हिजो हामीलाई भने– यो रोक होइन भने सहयोग नै बन्द हुन्छ। त्यस हिसाबले हामीले रोक्यौँ। तर उनीहरूले नै अहिले औषधि प्रयोजनका लागि खुला गर्ने भनेर बिग बिजनेस गरिरहेका छन्।’











