Kathmandu Press

काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए। 
काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

काठमाडाैं, जेठ २९ : काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउन यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ। 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए। 

अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरुपमा सुख्खा हुने समस्या छ। नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उनले बताए। उनले भने, 'नदी पूर्णरुपमा सुख्खा हुँदा पानी प्रशोधन हुँदैन। जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ।' 

गुहेश्वरीमाथि धापमा जस्तै विभिन्न स्थानमा पार्क बनाइने समितिको भनाइ छ। पर्यटकीय हिसाबले महत्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी वर्षामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उनले जानकारी दिए। वाग्मती करिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि बागमती कार्ययोजना बनाइएको थियो। त्यसलाई अध्यावधि गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ। 

वाग्मती सफा गर्न ठोस मात्रै फोहर हटाएर नहुने सूचना अधिकारी अर्यालको भनाइ छ। ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिच्छाएर प्रशोधन गरिनुपर्ने उनको धारणा छ। वाग्मतीमा ढल निर्माण भएपनि त्यसमा मिसिने अरु खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको उनले बताए। बागमतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म बागमती सफा नहुने देखिएको छ। 

समितिले अहिले नदी किनारमा मात्रै ढलको काम गरिरहेको र त्यसभन्दा बाहेकमा अन्य निकायले काम गरिरहेको हँदा आपसी समन्वय हुनुपर्ने उनको भनाइ छ।

समितिले बागमतीको उद्गमस्थल बागद्वारबाट ललितपुरको कटुवाल दहसम्म नदी सफाइ र करिडोर सडक निर्माण एकैसाथ अघि बढाएको छ। बागमती नदी सफा बनाउने उद्देश्यले समिति स्थापना भए पनि पछि यसको कार्यक्षेत्र बिस्तार भएर सफाइसँगै नदी आसपासमा पूर्वाधार निर्माणमा लागेको थियो। 

पशुपति क्षेत्रको वातावरण सुधारका लागि विसं २०५१ चैत २८ गते यसको स्थापना भएको थियो। शुरुमा कार्यान्वयन र अनुगमन समितिका रुपमा स्थापना भएकामा २०६५ साल जेठमा यसलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नामकरण गरिएको थियो।

प्रकाशित मिति: १३:२० बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्