अघिल्लो पूर्ति नहुँदै फेरि न्यायाधीशका लागि दरखास्त आह्रवान
जिल्ला न्यायाधीशमा ३७ न्यायाधीशको पद रिक्त छ। न्यायाधीशमा आन्तरिक खुलाबाट १५ र खुलाबाट सातजनाको नियुक्ति हुनेछ।
काठमाडौं, जेठ २८ : न्यायपरिषद्ले २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ। गत शुक्रबार न्याय परिषद सचिवालयले एक सूचना निकाल्दै जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको हो।
जिल्ला न्यायाधीशमा ३७ न्यायाधीशको पद रिक्त छ। न्यायाधीशमा आन्तरिक खुलाबाट १५ र खुलाबाट सातजनाको नियुक्ति हुनेछ। यसैगरी महिला, आदिवासी जनजाति र मधेसी समूहबाट दुईदुईजना तथा दलित समूहबाट एकजना नियुक्त हुनेछन्।
सूचना प्रकाशित मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप सात दिनभित्र आवेदन मागिएको छ। परिषदले नेपालको संविधानको धारा १४९ (२) को खण्ड (ख) र (ग) बमोजिम न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाइएको जनाएको छ।
परिषद्ले गत ८ फागुनमा पनि सात जिल्ला न्यायाधीशका लागि आवेदन मागेको थियो। तर हालसम्म नियुक्ति हुन सकेको छैन।
यस्तै गत साउन ११ गते उच्च अदालतका पनि २७ न्यायाधीश पदका लागि दरखास्त आह्वान गरेको थियो । उच्चका न्यायाधीशको पनि लागि हालसम्म नियुक्ति प्रक्रिया अघि बढेको छैन। त्यतिबेला उच्चका लागि ८१ जनाको नाम सर्टलिस्टमा परेको थियो।











