प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता
सशस्त्र युद्धका बेला माओवादीले बाल सैनिक बनाएका लेनिन विष्टलगायतले रिट निवेदन दायर गरेका हुन्।
काठमाडौं, जेठ २८ : सशस्त्र युद्धका बालसेना भर्ती गरेर युद्ध अपराध गरेको दाबीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
सशस्त्र युद्धका बेला माओवादीले बाल सैनिक बनाएका लेनिन विष्टलगायतले रिट निवेदन दायर गरेका हुन्। तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेको दाबी रिटमा गरिएको छ। युद्ध अपराधमा कारवाहीको मागसमेत गरिएको छ।
सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने बिषय रहेको बताउँदै उक्त रिटलाई दरपीठ गरिदिएको थियो। दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार रिट दर्ता गर्न प्रसासनलाई आदेश दिएको थियो।
उक्त रिटमा आगामी ३० जेठमा सुनुवाइको मिति तय भएको छ। रिट निवेदकले प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने माग समेत गरेका छन्।











