आगामी वर्षको बजेट समर्थन गर्न योग्य छैन : विष्णु पाैडेल
कर बढाउने वा कर लगाउने उदेश्यले मात्रै राजस्व परिचालन हुन नसक्ने भन्दै उत्पादन वृद्धि नभएसम्म करको लक्ष्य विस्तार र हासिल गर्न नसकिने तर्क गरे।
काठमाडाैं, जेठ २८ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी वर्षको बजेट समर्थन गर्न योग्य नभएको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती सामना गर्न बजेटले कुनै पहल नगरेको भन्दै बजेट समर्थन गर्न योग्य नभएको बताएका हुन्। उनले मुलुकको अर्थतन्त्रको समस्यालाई चिन्न नसकेको र यसले समाधानका लागि कुनै दृष्टिकोण दिन नसकेको जिकिर गरे।
कुल ग्राहस्त उत्पादनमा बृद्धि गर्ने, आम जनताको उपभोक्ताको क्रय शक्ति बढाउने, मुल्य बृद्धि नियन्त्रण गर्ने लगाएतका काममा बजेटको ध्यान जान नसकेको उनले बताए। उनले नेपालले आफैले लगानी गर्ने भनिएको जलविधुत आयोजनाहरु विदेशीलाई हस्तान्तरण गर्ने काम सरकारले गरेको आरोप लगाए।
कर बढाउने वा कर लगाउने उदेश्यले मात्रै राजस्व परिचालन हुन नसक्ने भन्दै उत्पादन वृद्धि नभएसम्म करको लक्ष्य विस्तार र हासिल गर्न नसकिने तर्क गरे। आर्थिक दायित्व खासै नपर्ने संस्थाहरु खारेज गर्ने निर्णय भएपनि खर्च घटाउन भत्ता खारेज गर्ने काम गर्न नसकेको उनले बताए।
पौडेलले विधुतीय सवारीसाधनको करको दर हेरफेर गर्ने प्रस्तावको औचित्य पुष्टि गर्नुपर्ने धारणा राखे। सरकारको नीति तथा कार्यक्रमसँग बजेटको कुनै अन्तरसम्बन्ध नदेखिएको उनले बताए।











