Kathmandu Press

‘मेरो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छरिरहेका छन्’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले आमजनताको खुसी र देशको सफलतालाई केही मान्छेहरुले पचाउन नसकेर जनतालाई भ्रम दिएको र राजनीतिको रोटी सेक्न खोजेको टिप्पणी गरे।
‘मेरो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छरिरहेका छन्’

काठमाडौं, जेठ २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन्।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ लाकुरीभन्ज्याङमा शनिबार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले आमजनताको खुसी र देशको सफलतालाई केही मान्छेहरुले पचाउन नसकेर जनतालाई भ्रम दिएको र राजनीतिको रोटी सेक्न खोजेको टिप्पणी गरे।

भारत भ्रमणबाट राष्ट्रमा विकासको ढोका खोल्ने आधार बनेको र त्यसले सिंगो राष्ट्र गौरवान्वित भइरहेको कुरा केही व्यक्तिलाई नपचेको उनको भनाइ थियो।

‘मेरो भारत भ्रमणले सिंगो राष्ट्र गौरवान्वित छ। तमाम उद्योगीव्यवसायी खुसी छन्। राष्ट्रको विकासको ढोका खोल्नुपर्छ भन्ने आधार तय भएकोले आमजनता खुसी छन्,’ उनले भने, ‘यो खुसी र सफलता केही मान्छेहरुलाई पचेको छैन। उनीहरुले अब जनतालाई के भनेर भ्रम दिने र कसरी राजनीतिको रोटी सेक्ने? राम्रो गरेकोलाई राम्रो भन्न नसक्ने त्यो रोग केही साथीहरुलाई लागेको थियो। त्यो रोगको उपचार विस्तारै गर्दै गरौंला।’

विरोधीले जे भने पनि इतिहासमा पहिलोपटक राष्ट्रको आर्थिक हितमा, राष्ट्रको बृहत्तर हितमा राम्रो काम गर्न पाएकोमा खुसी लागेको उनले बताए।

प्रधानमन्त्री दाहालले इन्दौरको फोहोर व्यवस्थापनको सन्दर्भ जोड्दै नुवाकोट र काठमाडौं उपत्यकाको फोहोर व्यस्थापनको समस्यालाई दीर्घकालीन समाधान गर्ने विषयमा आफूले तयारी गरेको बताए। दाहालले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कठोर ढंगले दृढ कदम चाल्ने संकल्पका साथ आफ्नो सरकार अगाडि बढेको बताए।

प्रकाशित मिति: १८:२० बजे, शनिबार, जेठ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्