प्रजातन्त्रलाई बलियो बनाउन कांग्रेसलाई बलियो बनाउँदै लैजानुपर्छ : देउवा
अहिले गठबन्धनको सरकार देशमा रहेको भन्दै गठबन्धनकै कारण कांग्रेस ठुलो पार्टी बन्न सफल भएको उनले बताए।
काठमाडाैं, जेठ २७ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्रलाई बलियो बनाउन कांग्रेसलाई बलियो बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्।
शनिबार भक्तपुरमा कांग्रेस भक्तपुरको जिल्ला सम्मेदन उद्घाटन गर्दै सभापति देउवाले कांग्रेस बलियो र सक्षमका साथै जनस्तरबाटै अघि बढ्न सके प्रजातन्त्र सुदृढ भएर जाने बताएका हुन्।
कांग्रेस सभापति देउवाले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई बलियो बनाउदै गाउँगाउँ घरघरमा पुर्याउनुपर्नेमा जोड दिए।
'हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लड्दै आएको पार्टी हो । यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पुर्याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ,' उनले भने, 'त्यति नै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरी प्रजातन्त्रमा संकट आउँदैन। प्रजातन्त्र स्थायी भएर जान्छ ।’
अहिले गठबन्धनको सरकार देशमा रहेको भन्दै गठबन्धनकै कारण कांग्रेस ठुलो पार्टी बन्न सफल भएको उनले बताए।
देउवाले पार्टीका नेताकार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिए। उनले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको पनि बताए।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


