Kathmandu Press

विदेशी फिल्मकर्मीको रोजाइमा नेपाल

केही समय अगाडि मात्र काठमाडौंमा फिल्म ‘मिराई’ को छायांकन भयो । सोही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खला काठमाडौंदेखि पोखरासम्म छायांकन गरे।
विदेशी फिल्मकर्मीको रोजाइमा नेपाल


काठमाडाैं, जेठ २७ : केही समयदेखि नेपालमा बलिउड फिल्म तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ ।

अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायांकनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन।

२०७८ मा बलिउड फिल्म  ‘उचाइ’ ले नेपालमा एक महिना छायांकन गरेको थियो। भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो।

Hardik ivf

त्यसपछि नेपालमा भारतीय फिल्मसँगै सिरिजसमेत आउन थालेका छन्। केही समय अगाडि मात्र काठमाडौंमा फिल्म ‘मिराई’ को छायांकन भयो । सोही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खला काठमाडौंदेखि पोखरासम्म छायांकन गरे।

नेपालमा विदेशी फिल्मको आकर्षण बढिरहेको प्रोडक्सन संयोजक अरुण रेग्मीले बताउछन्। उनी भन्छन्, ‘विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ । उनीहरूको काम गर्ने शैली परिपक्व छ। ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ।’

उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृङ्खलासँगै फर्जी, उचाइलाई नेपालमा छायांकन व्यवस्थापनको काम गरिसकेको छ। चलचित्र छायांकनका क्रममा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सनले मिलाउने गर्छन्।

शुक्रबार मात्र बलिउड अभिनेता सनी देओलको अभिनय रहने फिल्मको छायांकनको लागि स्थल छनोट गर्न आएको टोलीले मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्र घुमघाम गरेर फर्किएको छ। व्यवस्थापक आचार्यका अनुसार उक्त फिल्मको छायांकन आउँदो नोभेम्बर महिनामा गर्ने तयारी भइरहेको छ।

‘मुस्ताङमा छायांकन गर्ने तय भएको छ। यहाँ बीस दिन छायांकन गर्ने उनीहरुको योजना छ,’ उनले भने, ‘यसले नेपालको पर्यटन प्रवर्द्धनसँगै प्राविधिकलाई समेत टेवा पुग्छ।’

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य स्थल बनाउने उल्लेख गरेसँगै विदेशी फिल्मकर्मीले सहजता महसुस गरे आउँदो समय राम्रो देखिएको अर्का व्यवस्थापक शंकर पाण्डेले बताउछन्। उनी भन्छन्, ‘विशेषत छायाङ्ंनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए सङ्ख्या बढ्नेछ।’

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायांकन भएका छन् । पछिल्लो छ वर्षको तथ्यांक हेर्दा २४३ को हाराहारीमा फिल्म, वेभ सिरिज र वृत्तचित्र छायांकन गरिएका छन्।

उल्लेखित सङ्ख्या वृद्धि गर्न सरकारको तर्फबाट सहजता र कार्यविधि सहज बनाइनु आवश्यक रहेको चलचित्रकर्मी बताउँछन्।

प्रकाशित मिति: ११:५४ बजे, शनिबार, जेठ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्