बजेट र मौद्रिक नीति तादम्यता देखिएन : स्वर्णिम वाग्ले
उनले नयाँ संसद् र सरकारले केही अप्रिय र बोल्ड निर्णय गर्ला भन्ने अपेक्षा भएपनि अहिले त्यस्तो नदेखिएको उनले बताए।
काठमाडौं, जेठ २६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बजेट र मौद्रिक नीतिमा तादम्यता नदेखिएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा भाग लिँदै उनले सरकारले ल्याउने बजेट र राष्ट्र बैंकको मौद्रिक नीतिमा विशेष महत्व हुने भन्दै दुबैको तादम्यता र समन्वयले अर्थतन्त्रलाई लयमा हिँडाउन मद्दत गर्ने भएपनि अहिले त्यस्तो नदेखिएको बताए।
‘विगत २ वर्षमा वित्त र मौद्रिक नीतिबीच समान्जस्यता टुट्नाले पनि अर्थतन्त्रमा आवश्यकताभन्दा बढी असहजता देखिएको सर्वविदितै,’ उनले भने, ‘गत वर्ष कुल गाह्रस्थ उत्पादनको ३४ प्रतिशतको बजेट आएको थियो। मध्यावधि समीक्षामा त्यसलाई स्वाट्टै घटाइयो। अहिले त्यो सुकेर २७ प्रतिशतमा झरेको छ।’
भूकम्पछि देखा परेको समस्या व्यवस्थापन गर्न नसकेका कारण अहिलेको समस्या उत्पन्न भएको पनि उनको भनाइ थियो। पुनर्निर्माणका कारण ह्वात्तै बढेको बजेटलाई हामीले व्यवस्थापन गर्न सकेको बताउँदै उनले संघीयताको कारण पनि केही बजेट बढेको बताए।
अहिलेको सरकारलाई बजेटमार्फत विश्वानीयता आर्जन गर्नुपर्ने आवश्यकता रहेको पनि उनले औंल्याएका थिए। उनले नयाँ संसद् र सरकारले केही अप्रिय र बोल्ड निर्णय गर्ला भन्ने अपेक्षा भएपनि अहिले त्यस्तो नदेखिएको उनले बताए। उनले अर्थतन्त्रमा देखिएको समस्याको आधारभूत सुधारको अवसर पनि गुमाएको बताए।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


