काेशीमा पहिचान पक्षधरहरूले चलाइरहेको आन्दोलनबारे एमालेले सरकारसँग माग्याे जवाफ
कोशी नामकरण भइसकेपछि एमालेविरुद्ध केन्द्रित गरेर आन्दोलन भएको दाबी उनले गरे।
काठमाडौं, जेठ २६ : प्रमुख प्रतिपक्षी दल एमालेले कोशी प्रदेशमा पहिचान पक्षधरहरूले चलाइरहेको आन्दोलन र त्यसक्रममा भएका घटनाहरुलाई लिएर सरकारसँग जवाफ मागेको छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेका एमाले सचिव योगेश भट्टराईले प्रदेशको नाम राख्ने अधिकार प्रदेशसभामा रहेको र सोहीअनुरुप नै प्रदेशको नामकरण भए पनि आन्दोलन चर्किएको र त्यसक्रममा विभिन्न घटना भएको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ मागेका हुन्।
कोशी नामकरण भइसकेपछि एमालेविरुद्ध केन्द्रित गरेर आन्दोलन भएको दाबी उनले गरे। आन्दोलनका नाममा सत्तारुढ दलका नेता कार्यकर्ता नै आफूहरुसँग भिड्न आएको त होइन भनी आशंका भइरहेकाे उनले बताएका थिए। 'विचित्र लाग्छ, सर्वसाधारण मानिसको ज्यान सुरक्षा गर्ने सरकारको काम हो। पार्टीको कार्यक्रममा जाँदा एम्बुससम्म थापेर मार्नै खोजिन्छ भने बुद्धको देश कता जाँदैछ,' उनले भने।
केही समयअघि एमाले अध्यक्ष केपी ओली, पार्टीका संसदीय दलका उपनेता, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लगायत शीर्ष नेतृत्वको टोली पूर्वका विभिन्न क्षेत्रमा भ्रमण गर्न जाँदा झापाको चारआलीदेखि इलाम, पाँचथर र तेह्रथुमसम्म पुग्दा सडकहरुमा अवरोध सिर्जना गर्ने, रुखहरु ढाल्ने, गाडीमा ढुंगामुढा गर्ने, कालो झण्डा देखाउने कार्य भएको, केही ठाउँमा एम्बुस समेत थापिएको, त्यसको मतलब हाम्रा नेताहरुको हत्याको प्रयास भएको स्मरण भट्टराईले गरे।
'हिजोमात्र कोसी प्रदेश सदस्य संसदीय दलका उपेनता राम राना माथि सांगातिक हमला भयो। मोबिल छर्केर आगो लगाउने कोसिस भयाे। उपभसभामुख सिर्जना दनुवारको गाडी तोडफोड गरियाे, राष्ट्रिय झण्डा फ्याँकियाे, जलाइयाे। नजिकै डिएसपीको कमान्ड छ तर केही हुँदैन। किन हुँदैन?' उनले भने। उनले एमालेलाई नलेखट्न र सुरक्षा दिन चुनौती दिए ।
गृहमन्त्रीले सरकारको ध्यानाकर्षण भएको बताए पनि त्यस्ता कार्य गर्नेहरु कारबाहीको दायरामा आउन नसकेको भट्टराईले बताए। प्रदर्शनका क्रममा विराटनगरमा एक जनाको मृत्युसमेत भएको उनले उल्लेख गरे। ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु– पुलिसको लाठीबाट, गोलीबाट त्यो प्रदर्शनकारीको मृत्यु भएको हो कि होइन?’ तर सञ्चारमाध्यममा प्रदर्शनकारीहरुकै तर्फबाट हानिएको लाठी लागेर मृत्यु भएको भनेर समाचार आएको भन्दै त्यसबारे गृहमन्त्रीको जवाफदिनुपर्ने उनले बताए।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


