‘परस्त्री’को ट्रेलर सार्वजनिक
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका छन्।
काठमाडाैं, जेठ २५ : फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार नयाँबानेश्वरको आइप्लेक्स मलस्थित वान सिनेमाज हलमा आयोजित समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका छन्।
यही फिल्ममार्फत सुरज पाण्डेले नेपाली फिल्मी क्षेत्रमा निर्देशकका रुपमा डेब्यू गर्दैछन्।
कार्यक्रममा निर्देशक पाण्डेले भारतमा बजार पाउन सक्यौं भने हाम्रो निर्माणमा अझै भव्यता पाउने बताए । उनले विदेशी भाषामा फिल्म ल्याएर दर्शक बढाउने प्रयास र प्लेटफर्ममा सम्भावना खोजिरहेको उल्लेख गरे।
चलचित्रका लेखक दीपेन्द्र के खनालले यो विषय समाजसँग जोडिएको बताए । उलने भने, ‘यो हामीले देखिरहेको र सुनिरहेको कथा हो। यसले हाम्रो कमजोरी औंल्याउनसमेत मद्दत गर्छ।’
अभिनेत्री शिल्पा मास्केले आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको बताइन्। उनले परस्त्री अहिले बनिरहेका फिल्मभन्दा फरक भएको बताइन्। पोस्टरले पाएको चर्चा नर्भस भएको बताउँदै उनले ट्रेलर हेरेपछि ढुक्क भएको उल्लेख गरिन्।
अभिनेता कोशिस क्षेत्रीले पनि समाजमा भएको तर दबाइएको कथा फिल्ममा समेटिएको बताए । उनले भने, ‘यो कथाले सम्भावित घटनालाई देखाउँछ, बुझाउँछ। यसमा काम गर्दा निकै सहज र सरल भयो । फरक गर्ने मेरो प्रयासलाई यसका निर्माता तथा निर्देशकले सहजीकरण गरिदिनुभयो ।’
पिल्म असार १५ गतेदेखि प्रदर्शनमा आउने छ। फिल्म नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन हुनेछ। नेपालमा हिन्दी भाषामा प्रदर्शन गर्ने वा नगर्ने भन्ने तय भइसकेको छैन।












