Kathmandu Press

राष्ट्रिय ललितकला प्रदर्शनीमा अवलोकनकर्ताको भिड

यही जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा शुभारम्भ गरी जेठ मसान्तसम्म चल्ने  प्रदर्शनीमा देशभरबाट छनोट भएका ६ सय ९५ वटा कलाकृति राखिएको छ।
राष्ट्रिय ललितकला प्रदर्शनीमा अवलोकनकर्ताको भिड

काठमाडाैं, जेठ २५ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवसको अवसर पारेर सुरु गरेको राष्ट्रिय ललितकला प्रदर्शनीमा अवलोकनकर्ताको भीड बढ्न थालेको छ। 

यही जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा शुभारम्भ गरी जेठ मसान्तसम्म चल्ने  प्रदर्शनीमा देशभरबाट छनोट भएका ६ सय ९५ वटा कलाकृति राखिएको छ। सुदूरपश्चिम प्रदेशबाट भने प्रदर्शनीमा चार जनामात्र कलाकारको कलाकृति प्राप्त भएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए। कर्णाली प्रदेशबाट ११ जना कलाकारको कलाकृति प्रदर्शनीमा राखिएको छ। 

 यसैगरी बागमती प्रदेशबाट सबैभन्दा बढी अर्थात् चार सय ३५, गण्डकी प्रदेशबाट ५८, कोशी प्रदेशबाट ५२, मधेश प्रदेशबाट ४९ र लुम्बिनी प्रदेशबाट ४९ जना कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको पनि उहाँले बताउनुभयो। 

Hardik ivf

प्रदर्शनीको आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरिन्। प्रदर्शनीमा राखिएका सबै कलाकृतिको उनले अभिरुचिपूर्वक अवलोकन गरेकी थिइन्।

यसैगरी नेपालका लागि कतारका राजदूत जबिर अब्दुल्ला अलबीले पनि प्रदर्शनीको अवलोकन गर्नुभएको छ। प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थीले पनि रुचिपूर्वक अवलोकन गरेका छन्। विजेश्वरी ज्ञान मन्दिर महाविद्यालय स्वयम्भूमा कक्षा ८ मा अध्ययनरत दीक्षा खड्का प्रदर्शनी हेरेर धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउँछिन्। 
 
सोही विद्यालयको कक्षा ८ मै अध्ययनरत लिलीमा गुप्तालाई भने केही कलाकृति बुझ्न असहज भयो। तर पनि प्रदर्शनीबाट किताब पढेरभन्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको उनले बताइन्। ज्ञानोदय बालवाटिका विद्यालय खोकना, ललितपुरका विद्यार्थीले पनि आज प्रदर्शनीको अवलोकन गरेका छन्। विद्यालयले आर्ट क्लब नै गठन गरेर ललितकला विधालाई प्रोत्साहन गरेको शिक्षक दीपक श्रेष्ठले जानकारी दिए। 

ज्ञानोदय बालवाटिका विद्यालयमा कक्षा ७ मा अध्ययनरत रिया तामाङ प्रदर्शनी विद्यार्थीका लागि ललितकलाको ज्ञान आर्जन गर्ने राम्रो पाठशालाका रूपमा स्थापित भएको बताउँछन्। दुवै विद्यालयमा चित्रकलामा प्रतिस्पर्धा पनि गराउने गरिएकाले पनि विद्यार्थीले रुचिपूर्वक सबै कलाकृतिको अवलोकन गरेका थिए। 
 
प्रतिष्ठानको कार्यालय नक्सालमा स्थान अभाव भएका कारण परम्परागत मूर्तिकलाका प्रदर्शनी भने बबरमहलस्थित नेपाल कलापरिषद्मा गरिएको छ। बबरमहलमा करिब दुई सय ५० कलाकृति प्रदर्शनीमा राखिएको कुलपति हार्तम्छालीले जानकारी दिए। 

विगत वर्षको प्रदर्शनीमा भन्दा यसपटक चित्र बढे पनि गुणस्तर बढ्न नसकेको उहाँले स्वीकार गर्नुभयो। राजधानी वरपरका कलासर्जककै रचना बढी प्रदर्शनीमा रहेको छ। व्यावहारिक रूपमा बाहिरका कलाकर्मीलाई प्रोत्साहन हुन सकेको छैन। हुम्ला, जुम्लाका कलाकर्मीका कलाकृति अझै प्रदर्शनीमा आउन सकेको छैन। 

दुर्गम जिल्लाका कलाकर्मीलाई पनि समेटेर अर्को वर्ष प्रतिष्ठानले प्रदेशस्तरमै प्रदर्शनी गर्ने योजना बनाएको छ। ललितकलाका बारेमा विधागत कार्यशाला र अन्तरक्रिया गर्न पनि बजेट र जनशक्तिको अभावमा नसकिएको प्रतिष्ठानले जनाएको छ।

प्रदेश र स्थानीय तहमा ललितकला हेर्ने प्रतिष्ठान गठन गर्ने क्रम अघि बढेको छ। प्रदेश र स्थानीय सरकारले पनि ललितकलाका काम गर्न थालेपछि भने यसको संस्थागत विकासमा सहयोग पुग्ने विश्वास गरिएको कुलपति हार्तम्छाली बताउँछन्।

प्रकाशित मिति: १८:२५ बजे, बिहीबार, जेठ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्