स्वास्थ्यमन्त्रीद्वारा हेटौंडा अस्पतालको अनुगमन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौँडा अस्पतालको अनुगमन गरेका हुन्।
हेटाैंडा, जेठ २५ : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको हेटौँडा अस्पतालको सङ्घीय र प्रदेशका स्वास्थ्यमन्त्रीले अनुगमन गरेका छन्। आज सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौँडा अस्पतालको अनुगमन गरेका हुन्।
उनीहरूले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग कक्ष, भर्ना भएका बिरामीको अवस्था, अस्पतालको औषधालयलगायतको अनुगमन गरेका थिए। अस्पताल र सर्वसाधारणको उपचारमा परेका समस्याको विषयमा उनीहरूले जानकारी लिए।
अस्पतालमा उपचार गरिरहेका सर्वसाधरणका समस्या, गुनासा सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्यासमेत समाधान गर्ने सङ्घीय स्वास्थ्यमन्त्री बस्नेतले बताए। देशैभरका स्वास्थ्यकर्मीको समस्या बढेको उल्लेख गर्दै उनले हेटौँडा अस्पतालमा पनि त्यस्ता समस्या रहेकाले यहाँ थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने विश्वास दिलाए।
मन्त्री बस्नेतले गरिब परिवारका लागि १० प्रतिशत शय्या निःशुल्करूपमा प्रयोग गर्ने वातावरण तयार गर्न पनि निर्देशन दिए। अहिले पनि स्वास्थ्यकर्मी सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकमा धेरै समय बस्ने गरेको उल्लेख गर्दै उनले भने, 'पहुँचका आधारमा कर्मचारी खटाएको ठाउँमा नजाने, कोही अस्पतालमा थुप्रिएर बस्ने त कोही अस्पतालमा स्वास्थ्यकर्मी नहुने समस्या धेरै छ।'
हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटाले हेटौँडा अस्पताल हाल सरकारीस्तरबाट ५० शय्यामा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान अनि व्यवस्थापन समितिमार्फत भने अरु एक सय ५० शय्या थप गरेर सञ्चालन गरिएको बताए।