‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन
सांसद हरि ढकालले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने वाक्यले दृष्टिविहीन समुदायलाई चोट पुगेको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए।
काठमाडाैं, जेठ २५ : उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी छन्।
आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावलीको प्रयोग गर्नुभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने वाक्यले दृष्टिविहीन समुदायलाई चोट पुगेको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए।
सांसद ढकालको नियमापत्तिपछि उपसभामुख रानाले सो शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी हुन्। आगामी वर्षको बजेटका बारेमा सांसदहरू छिरिङ डम्डुल लामा (भोटे), नागिना यादव, विद्या भट्टराई, डिल्लीराज पन्त, अमृतादेवी अग्रहरीलगायतले आफ्ना विचार राखेका छन्।
राजस्व बढाउन विद्युत् र पर्यटनमा महत्त्व दिनुपर्नेमा उनीहरूले जोड दिएको थिए। कृषिलाई पनि बजेटले प्राथमिकता दिए आयात कम गर्न सकिनेमा सांसदहरूको भनाइ थियो।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
