कोसी प्रदेशमा नामकरणविरुद्धको आन्दोलनमा प्रचण्डकाे संलग्नता छ : ओली
‘प्रचण्ड सरकारले न गुण्डाहरु नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ, न केही गर्छ, बरु संरक्षण गरेको छ। अब हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ।’
काठमाडौं, जेठ २५ : एमाले अध्यक्ष केपी ओलीले कोशी प्रदेशमा नामकरणविरुद्धको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेविरुद्ध पहिचानका नाममा मान्छे भड्काइरहेको आरोप लगाएका छन्।
आज (बिहीबार) इलाममा एमाले कोसी प्रदेशसभा संसदीय दलका उपनेता राम रानामाथि पहिचान पक्षधरहरुले आक्रमण प्रयास गरेपछि आजै काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले अब नामकरणविरुद्ध कोशीमा भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने र कायृकर्ताको रक्षा गर्ने बताए।
माओवादी केन्द्रले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाउँदै ओलीले भने, ‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने? अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो। किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन यस्तोमा।’
उनले भने, ‘प्रचण्ड सरकारले न गुण्डाहरु नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ, न केही गर्छ, बरु संरक्षण गरेको छ। अब हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ।’










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
