Kathmandu Press

दिनभर मकैबारी रुँग्दै वडाध्यक्ष 

फाँटमा लगाइएका मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो गरेर मकै जोगाउन लागेका छन्। वडाको कामसँगै खेतबारीमा लगाएको मकै, बोडी, सिमी पनि जोगाउनुपरेको अध्यक्ष लामिछानेले बताए। 
दिनभर मकैबारी रुँग्दै वडाध्यक्ष 


पर्वत, जेठ २५ : पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिन्नन्। उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका होइनन्। हरेक महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्छन् । यसको कारण हो बाँदर धपाउन । 

लामिछाने मात्र हैन कुश्मा नगपालिका–९ का १५ परिवारको एउटै फाँट रहेको छ । ती फाँटमा लगाइएका मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो गरेर मकै जोगाउन लागेका छन्। वडाको कामसँगै खेतबारीमा लगाएको मकै, बोडी, सिमी पनि जोगाउनुपरेको अध्यक्ष लामिछानेले बताए। 

खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् तर किसानलाई भने ती घोगा जोगाएर घर भित्र्याउने पाइने हो कि होइन भन्ने चिन्ता छ। आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालो बस्नुपर्ने बाध्यता परेपछि आफूसमेत महिनामा दुई दिन खेतबारी रुगेर बस्ने गरेको उनी बताउँछन्। 

Hardik ivf

त्यस्तै पत्रकार राजबाबु पिसीले आफू पनि महिनाको दुई दिन बाँदर धपाउने पालोमा खेतबारी कुरेर बस्नुपर्ने बताए। महिनाको दुई दिन पत्रकारिताको काम छाडेर खेतबारीमा बाँदर धपाउनुपर्ने बाध्यता रहेको उनले बताए। 

खेतबारीमा लगाएका बाली जोगाउन कटुवा चौपारीवासीलाई हम्मेहम्मे परेको छ । यहाँको करिब साढे दुई सय रोपनीमा मकै लगाइएको छ । मकैले घोगा हाल्दै छन्, बाँदर भने दैनिकजसो खेतबारीको आसपासमा आउन थालेका छन् । बाँदर आतङ्क बढेपछि कटुवा चौपारीवासी पालो नै छुट्याएर बाँदर धपाउन लागिपरेका छन् । कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडाध्यक्ष लामिछाने गाउँले बाँदरबाट बाली जोगाउन पालो लगाएर खेतबारीमै बस्न थालेको बताए। 

'अब एक महिना बाँदरबाट बाली जोगाउन एकदमै कठिन हुन्छ, बाली पाक्नै लाग्दा बाँदर खेतबारीमा पसेर सबै खाइदिन्छ', उनले भने, 'यसपालि चाहिँ पालो नै बनाएर बाँदर धपाउन खेतबारीमै बसेका छौँ ।'

उक्त क्षेत्रमा बाँदर आतङ्क नयाँ भने होइन । विगत  वर्षमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछानेले बताउनुभयो । 'यसअघि पनि बाँदरले बाली खाइदिन्थ्यो, बाँदरबाट जोगाउन धेरै कोसिस गरियो तर, नसकेपछि यसपालि पालो गरेर खेतबारीमै बसे गरेका छौँ', उgले भने, 'बाँदर आएपछि कराउने हल्ला गर्ने अनि बाँदर भाग्छ, त्यसरी बालीनाली जोगाउन सकिन्छ ।'

बाँदरबाट बालीनाली जोगाउन खेतबारीमा छाप्रो बनाइएको छ । पालो परेको व्यक्ति सोही छाप्रोमा आएर बस्ने र बाँदर आएपछि सङ्केत गर्ने गरिन्छ । 'हामी खेतबारीको छेउमा सानो छाप्रो बनाएका छौँ । सबैको पालो लगाएका छौँ, कसले कति गते पालो परेको छ, त्यतिअनुसार छाप्रोमा बस्नुहुन्छ र बाँदर आयो भने त्यहाँबाट सङ्केत गरिन्छ, सङ्केत पाउँदा बित्तिकै सानो झुन्ड रैछ भने आफैँ धपाउछन्, ठूलै भुन्ड रैछ भने सबै गाउँले गएर धपाउँछौँ', वडाध्यक्ष लामिछानेले भने, '७० घरको खेती यसरी नै जोगाउँछौँ ।'

बाँदर धपाउने कृत्रिम उपाय अपनाए पनि नभागेपछि उक्त उपाय अपनाएको वडाध्यक्ष लामिछाने बताउँनुभयो । 'बाँदर धपाउन धेरै उपाय अपनाऔँ, पड्काउने, बजाउने सबै गरियो तर, भागेन', उनले भने, 'अहिले पालो लगाएर खेतबारीमा बसेपछि बाली जोगाउन सकिएको छ ।'

प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, जेठ २५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्