एमालेमा ७० वर्ष उमेर हद हटाइयो, प्रदेश अधिवेशन भदौभित्र
अब निर्वाचित हुने सात प्रदेशका अध्यक्ष पदेन पोलिटब्यूरो सदस्यसरह हुने र केन्द्रीय कार्यालय सचिवलाई पदेन केन्द्रीय सदस्यका रूपमा बैठकमा सहभागी गराइने भएकाे छ।
काठमाडाैं, जेठ २४ : नेकपा एमाले केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ। पार्टीको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिए।
यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले हिजो ९जेठ २३ गते० जारी गरेको अन्तरपार्टी निर्देशन-७ मा सो कुरा उल्लेख थियो।
यसअघि पार्टीमा रहने केन्द्रीय सदस्यको उमेर हद ७० वर्ष तोकिएको थियो। अन्तरपार्टी निर्देशन–७ को विविध निर्णयअन्तर्गत केन्द्रीय कमिटीको उमेर हदसम्बन्धी व्यवस्थामा ‘पार्टी विधानमा रहेको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने’ उल्लेख गरिएको हो । गत २०७० मा भएको नवाैं महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्यका लागि लाई ७० वर्ष उमेर हदबन्दी लागू गरिएको थियो ।
पार्टीले सचिवालय बैठक, स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकका निर्णय समावेश गरेर यो अन्तरपार्टी निर्देशन–७ जारी गरेकोे हो।
यसैगरी अन्तरपार्टी निर्देशनमा पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटीका नेताको जिम्मेवारी पनि हेरफेर गरिएको छ। अन्तरपार्टी निर्देशनमा सबै प्रदेश अधिवेशन आगामी भदौ महिनाभित्र आयोजना गर्ने उल्लेख गरिएको छ। असोजदेखि चैत महिनासम्ममा जिल्ला, पालिका, वडा र टोलटोलका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाउने उल्लेख गरिएको छ।
यसैगरी प्रदेश कमिटीको कामको महत्वलाई ध्यानमा राखी अब निर्वाचित हुने सात प्रदेशका अध्यक्ष पदेन पोलिटब्यूरो सदस्यसरह हुने र केन्द्रीय कार्यालय सचिवलाई पदेन केन्द्रीय सदस्यका रूपमा बैठकमा सहभागी गराइने अन्तरपार्टी निर्देशनमा उल्लेख छ।
यस्तै पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न नयाँ अभियान सञ्चालन गर्ने र त्यसका लागि अधिवेशन र पुनःगठनका माध्यमबाट आधारभूत तहका कमिटीमा एक तिहाई सदस्य ३५ वर्ष मुनिका पार्टी सदस्यलाई संगठित गर्नेगरी युवालक्षित अभियान सञ्चालन गर्ने पनि जनाइएको छ।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
