Kathmandu Press

भारत भ्रमणका क्रममा माेदीसँग जमिन सट्टापट्टाको कुरा भएकै छैन : प्रधानमन्त्री दाहाल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको भोलिपल्ट नेपाली पत्रकारहरुसँग कुरा गर्दा भने नेपालकै बुद्धिजिवीहरुले जमिन आदानप्रदानको कुरा उठाएको सन्दर्भ रहेकाे जानकारी मात्र गराएकाे दाबी उनकाे थियाे।
भारत भ्रमणका क्रममा माेदीसँग जमिन सट्टापट्टाको कुरा भएकै छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा आफूले जमिन सट्टापट्टाको कुरा नगरेको बताएका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘भारतीय पक्षसँग भएको औपचारिक कुराकानीका क्रममा जमिन सट्टापट्टाबारे कुरा गरेको छैन, मैले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो, यो समस्या छिट्टै हल गर्नुपर्छ मात्र भनेको हुँ।’

नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद हल गर्न सकिने र आफ्नो भारत भ्रमणले त्यस्तो वातावरण बनाएको उनले दाबी गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको भोलिपल्ट नेपाली पत्रकारहरुसँग कुरा गर्दा भने नेपालकै बुद्धिजिवीहरुले जमिन आदानप्रदानको कुरा उठाएको सन्दर्भ रहेकाे जानकारी मात्र गराएकाे दाबी उनकाे थियाे। सरकारले समय–समयमा गराएको अध्ययनमा पनि समस्या जटिल भयो भने सट्टापट्टा पनि गर्न सकिन्छ भनेको भेटिने बताएको जिकिर उनले गरे।  ‘म अहिले ठ्याक्कै प्रमाण देखाउन सक्दिनँ, समय शायद आउँछ, म प्रमाण देखाउन सक्छु’, उनले भने, ‘अहिले जो–जो नेताहरुले यो सट्टा भन्ने शब्द बोल्नु हुन्थेन भन्नुभएको छ, उहाँहरुले नै सट्टाको कुरा निर्णय गराउनुभएको छ।’ 

कनिकुथी सकीनसकी विरोध गर्नुको कुनै औचित्य नभएको उनले बताए। बलियो राष्ट्रिय एकता प्रदर्शन गर्दै भएका सहमति ठीक ढंगले कार्यान्वयन गर्दै गए मात्र नेपाल बलियो हुने उनको भनाइ थियो।

भारत भ्रमणका क्रममा १९५० को सन्धीदेखि हालका सीमा विवादका विषयमा प्रस्टसँग छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ थियो। उनले दुवै मुलुकबीच छलफलको वातावरण बनाएर अगाडि बढ्नुपर्ने आपसी बुझाइ रहेको स्पष्ट पारे। 'नेपालमा एयररुट पहिलोपटक ऐतिहासिक नै हो । जति कुरा प्रस्टसँग राखिएको छ। सबै कुरा राखिएको छ। इतिहासदेखि थाती रहेका, १९५० को कुरा पहिलोपटक जाँदा पनि र अहिले पनि सबै समस्याहरूको विश्वासको वातावरण बनाएर समाधान गर्नुपर्छ भन्ने कुरा राखिएको छ। यस अर्थमा पनि यो भ्रमण महत्त्वपूर्ण भएको छ।' 

भारत भ्रमणमा राष्ट्रिय हित प्रतिकूल आफूले कुनै पनि काम नगरेको दाबी गर्दै प्रधानमन्त्री दाहालले भ्रमणबाट केही नै भएन भन्ने टिप्पणी गर्नु उचित नभएको बताए। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले भारत भ्रमणको बेला सीमाको विषयमा केही गरिनस् भन्नेले आफू प्रधानमन्त्री हुँदा के चाहिँ गरे भन्दै प्रतिप्रश्नसमेत गरे।  ‘केही नि भएन भन्ने साथीहरु, हिजो सरकारको नेतृत्व उहाँहरुको दल पनि गरेकै थियो। अरु थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँहरुले के चाहिँ गर्नु भएको थियो? भएको थियो र केही?’ उनले भने, ‘उत्पात भयो भन्ने मेरो दाबी होइन तर एउटा नयाँ सुरुवात भयो।’

मिडियामा भारतीय संसद्‌मा नेपालको भूभाग समेटिएको नक्सा राखेको समाचार आएपछि आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न सुझाएको पनि उनले बताए। ‘पहिलो कुरा संसदकाे नक्साबारे कुरा भयो । मैले गम्भीर रुपमा नै उठाए किनकि त्यो धेरै अध्ययन भइसकेको त थिएन। तर पनि जसरी मिडियामा आएको थियो त्यो विषयमा त्यसरी नै प्रश्न गरें,' उनले भने, 'यो के हो नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरूले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिए। यो कुनै राजनीतिक नक्सा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो।'

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्