Kathmandu Press

पाँच दिनपछि भेटियो सुनकोशीमा खसेको गाडी र २ वटा शव

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारकाे गोताखोरसहितको टोलीले मंगलबार साँझ सवा ६ बजे गाडी भटेको हो।
पाँच दिनपछि भेटियो सुनकोशीमा खसेको गाडी र २ वटा शव

काठमाडाैं, जेठ २३ : सुनकोशीमा खसेको गाडी ५ दिनपछि भेटिएको छ। शुक्रबार सुनकोशी नदिमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारी चढेको गाडी मंगलबार भेटिएको हो।

घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडिएको अवस्थामा जिप र शव फेला परेको प्रहरीले जनाएको छ। शवको सनाखत भने हुन सकेको छैन ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको इन्सपेक्टर सुवास थापाको कमान्डमा रहेको गोताखोरसहितको टोलीले मंगलबार साँझ सवा ६ बजे गाडी भटेको हो। सुनकोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि उक्त गाडी फेला परेको हो।

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो।

गाडीमा सीटीईभीटीको प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल र चालक चालक कृष्ण चौधरी सवार थिए। चालक चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए।

 अर्का एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:०९ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्