Kathmandu Press

‘नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन्’

ओखलढुंगाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको उद्घाटन गर्दै मन्त्री किराँतीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा एवम् मठमन्दिरका टुँडाल पाठ्क्रमका रुपमा रहेका उल्लेख गरे।
‘नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन्’

ओखलढुंगा, जेठ २३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन आजको आवश्यकता भएको बताएका छन्।

ओखलढुंगाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको उद्घाटन गर्दै मन्त्री किराँतीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा एवम् मठमन्दिरका टुँडाल पाठ्क्रमका रुपमा रहेका उल्लेख गरे।

‘नेपाली पहिचान बोकेका गाउँघरका उत्पादन र स्वादलाई पर्यटनको विकास र प्रवर्द्धनमा जोड्नुपर्छ। मुलुक र जनताको हितमा काम गर्नुपर्छ भन्ने हुटहुटी र सहासले पर्यटन क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्दै प्रवर्द्धनका कार्यक्रम गर्न कोसिस गरिरहेको छु,’ उनले भने।

यस्तै प्रतिनिधिसभाका सांसद रामहरि खतिवडाले राष्ट्रियता र विकासका मुद्दामा सबै राजनीतिक दलबीच न्यूनतम साझा सहमति आवश्यक रहेकाले यस्ता विषयमा दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी रहेको बताए।

खिजी देम्बा गाउँपालिका अध्यक्ष गोम्बु शेर्पाले चण्डेश्वरी विमानस्थलको स्तरोन्नति र  खिजीदेम्बा–थोलेदेम्बा क्षेत्र समेटिने पर्यटकीय पदमार्गलाई व्यवस्थित तुल्याउन केन्द्र र प्रदेश सरकारको आर्थिक सहयोगको अपेक्षा गरे।

जिल्ला सदरमुकामबाट ६० किलोमिटर पश्चिम–उत्तरमा सुनुवार, तामाङ र शेर्पा जाति समुदायको बसोबास रहेको खिजी देम्बो क्षेत्र धार्मिक हिसाबले बौद्ध, किराँत र हिन्दूको त्रिवेणीका रुपमा रही आएको छ।

समुद्री सतहबाट करिब तीन हजार तीन सय ५० मिटरको उचाइमा रहेको खिजी देम्बा डाँडा मुलुकका एक सय पर्यटन गन्तव्यस्थलमध्येको एक अब गल्फ खेलका लागि नयाँ गन्तव्य हुने विश्वास गरिएको छ।

सो अवसरमा मन्त्री किराँतीले पोखली झर्ना, चिलिमडाँडा, माम्जेबौद्ध, चुलीथान, दोवाटेभञ्ज्याङ, खिजी चण्डेश्वरी, खिजी पलाटे, चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा हुँदै सोलुखुम्बुको पिके, दूधकुण्डहिमालबाट सगरमाथाको आधार शिविरसम्मको नयाँ पदमार्गको घोषणा गरेका थिए।

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्