खप्तड आर्थिक र पर्यटन विकास केन्द्र बन्छ : प्रधानमन्त्री
मंगलबार खप्तडमा प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दहालले खप्तड आर्थिक र पर्यटन विकास केन्द्रसँगै आध्यात्मिक केन्द्र बन्ने बताए।
बैतडी, जेठ २३ : प्रधानमन्त्री पुष्पकमल दहालले खप्तड आर्थिक र पर्यटन विकास केन्द्र बन्ने बताएका छन्। मंगलबार खप्तडमा प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दहालले खप्तड आर्थिक र पर्यटन विकास केन्द्रसँगै आध्यात्मिक केन्द्र बन्ने बताए।
प्रधानमन्त्री दहालले खप्तड क्षेत्रलाई पर्यटनमैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न राम देव र आचार्य बालकृष्णलाई पनि इच्छुक रहेको प्रधानमन्त्रीले बताएका थिए।
उनले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आफू सुदूरपश्चिम प्रदेशको विकासको लागि प्रतिवद्ध रहेको पनि बताए।
प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलनमा योगगुरु राम देव, पतञ्जली योगका महामन्त्री बालकृष्ण आचार्य, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देबराज जोशी, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत उपस्थित थिए।
सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको हो । खप्तड समुद्री सतहबाट झण्डै तीन हजार पाँच सय मिटरको उचाइमा रहेको छ । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ। सम्मेलन जेठ २५ गतेसम्म चल्नेछ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

