आफ्नै अर्थमन्त्रीलाई कांग्रेस सांसद खतिवाडाको प्रश्न
उनले प्रश्न गरे, ‘बेरूजु विशेषज्ञ भनेर रिटायर्ड कर्मचारी रामकृष्ण श्रेष्ठलाई किन नियुक्त गरियो ? कसको चाहनामा नियुक्त गरियो?’
काठमाडौं, जेठ २३ : अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफ्नै पार्टीका सांसद्ले पनि प्रश्न गरेका छन्। बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने विषयमा मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसकै सांसद रामहरी खतिवडाले अर्थमन्त्री डा.महतलाई प्रश्न गरेका हुन्।
उनले बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई कसले प्रवेश दियो भन्दै प्रश्न गरे। उनले प्रश्न गरे, ‘बेरूजु विशेषज्ञ भनेर रिटायर्ड कर्मचारी रामकृष्ण श्रेष्ठलाई किन नियुक्त गरियो ? कसको चाहनामा नियुक्त गरियो?’
‘अर्थ मन्त्रालयमा एकजना कर्मचारी रामकृष्ण श्रेष्ठलाई २०७९ साल फागुन १९ गतेका दिन नेपाल सरकारले निर्णय गरेर नियुक्त गरेको देखिन्छ। त्यतिबेला अर्थमन्त्री को थिए?,’ उनले प्रश्न गरे। ‘दुई वर्षअघि रिटार्यड भएको कर्मचारीलाई नियुक्त गर्नुपर्ने जरुरी के पर्यो? फागुन २५ गतेदेखि लागु हुने गरी २०८० साल असाढ मसान्तसम्म रहने गरी महिनाको ३४ हजार ४३० रूपैयाँ तलब पाउने गरी किन, कसको इन्ट्रेस्टमा नियुक्त गरिएको हो ? त्यसको जवाफ म अर्थमन्त्रीबाट चाहन्छु ।’
उनले श्रेष्ठलाई यति धेरै अधिकार दिएर तत्कालीन अवस्थामा केका लागि नियुक्त गरियो, कसले नियुक्त गर्यो भन्दै अर्थमन्त्रीबाट जवाफ चाहेको बताए ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

