कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
रेडचेरी मिडिया प्रालिको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा पहिलो पटक आयोजना हुने लागेको महोत्सवको काठमाडौंमा एक कार्यक्रमबीच लोगो सार्वजनिक गरियो।
काठमाडाैं, जेठ २२ : कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतस्थित वीरेन्द्रनगरमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने भएको छ।
रेडचेरी मिडिया प्रालिको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा पहिलो पटक आयोजना हुने लागेको महोत्सवको काठमाडौंमा एक कार्यक्रमबीच लोगो सार्वजनिक गरियो।
महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताए। ‘प्रदेशलाई चिनाउने र छायांकनको गन्तव्य बनाउने हाम्रो उद्देश्य हो । चलचित्रको माध्यमले पर्यटनलाई प्रवर्द्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेका हौं,’ उनले भने।
कार्यक्रममा उपस्थित सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा चलचित्र छायांकनको गन्तव्य बनाउन संसदमा आवाज उठाउने बताउनुभयो । उनले भने, ‘अहिले हाम्रो मौलिक कथाले पर्दामा स्थान पाइरहेका छन्। कर्णालीका कथालाई पर्दासम्म ल्याउन मेरो सहयोग र सहकार्य रहनेछ।’
उनले आगामी बजेटमा नेपाली चलचित्रलाई समावेश गर्न सम्बन्धित निकायसँग छलफलसमेत गरेको जानकारी गराए। ‘बजेटमा सम्बोधन नभएको गुनासो उठिरहँदा यस क्षेत्रलाई समेटेर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘मैले अर्थमन्त्रीज्यूसँग भेटेर पनि यसबारे जानकारी गराएको छु । छिट्टै केही सम्बोधन हुनेमा आशावादी छु।’
कार्यक्रममा पूर्वराज्यमन्त्री कुन्तीकुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हास्यकलाकार हिमेश पन्तलगायत उपस्थित थिए।












