प्रधानमन्त्रीले सीमा समस्या समाधानमा भूमि लेनदेनको विषय उठाउनु गलत : ओली
सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले भारत भ्रमणबाट केके न फाँडेर ल्याएको जस्तो गरे पनि नेपाललाई फाइदा हुने केही नल्याएको बताए।
काठमाडौं, जेठ २२ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अत्यन्त फितलो भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले भारत भ्रमणबाट केके न फाँडेर ल्याएको जस्तो गरे पनि नेपाललाई फाइदा हुने केही नल्याएको बताए। ‘तपाईंले सबै फाँडेर आएजस्तो गर्नुभयो। तपाईंले साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा नै हो। अरु ल्याएँ भनेका कुरा त पुष्टि गर्नुपर्छ। आफू कम्फर्टेबल हुनुभयो, प्याट्रियोटिक हुन सक्नुभएन। तपाईं देशको पक्षमा उभिन सक्नु भएन।’
ओलीले सीमा समस्या समाधानमा भूमिको लेनदेनको विषय उठ्नु–उठाउनु गलत भएको टिप्पणी गरे। ओलीले समुद्रसँगको पारवहनको सुविधा भूमि सट्टापट्टाको विषय नभई अधिकारको विषय भएको पनि बताए।
‘बंगलादेश जाने बाटोसँग लिपुलेक–लिम्पियाधुरा सट्टापट्टा गर्न सकिने कुराले देश तरंगित छ,’ उनले भने, ‘बंगलादेश जाने बाटो या पारवहनको सुविधा सट्टापट्टाको विषय होइन, त्यो अधिकारको विषय हो।’
उनले बंगलादेशको बन्दरगाहसम्म पुग्ने कुरा पहिले नै टुंगिसकेको पनि बताए। ‘यो कुरा पहिले नै टुंगिएर बंगलादेश, भुटान, भारत, नेपाल यी चार देशको संगठन जस्तो बिबिआइएन बनेको थियो। ढुवानी र आवागमनका लागि सहमतिहरू पनि भए। कार्यान्वयनका बेला भुटान पछि हट्यो। पछि बिआइएन मात्रै भन्न थालियो,’ उनले भने।
उनले मोतीहारी अमलेखगन्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठुलो कुरा नभएको ओलीको भनाइ थियो।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

