‘वैवाहिक अंगीकृत नागरिकताका लागि समयसीमा तोक्ने विषयमा सहमति खोजिनुपर्छ’
‘हामी अहिले पनि नेपालमा विवाह गरेर आउने महिलाको हकमा केही क्राइटेरिया राख्नुपर्छ भन्नेमै छौं,’ उनले भने।
काठमाडौं, जेठ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि कति वर्षको समयसीमा राख्ने भनेर सहमति खोज्नुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा संसदमा उठेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आगामी दिनमा समझदारी बनाएर अंगीकृत नागरिकताका लागिसमय सीमा राख्नुपर्ने बताए। ‘हामी अहिले पनि नेपालमा विवाह गरेर आउने महिलाको हकमा केही क्राइटेरिया राख्नुपर्छ भन्नेमै छौं,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नागरिकता लिन मात्र नागरिकता विधेयक आएको बताए।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले समयसीमा राख्ने विषय संसद्मा नै भनेपछि विधेयक प्रस्तुत भएको बताए । त्यतिबेला जन्मसिद्ध आमाबाकुका सन्तानहरू नागरिकता नपाएर प्रताडित भएकाले समस्या समाधान गर्न विधेयक ल्याइएको र नेपालमा विवाह गरेर आउने महिलालाई सीमा राख्ने विषय थाती रहेको उनले बताए।
‘म के सम्झाउन चाहन्छु भने त्यतिबेला शेरबहादुर देउवा प्रधानन्त्री भएको बेलामा गृहमन्त्रीको मुखबाट हामीले के बोलाइएको छ भने यो विधेयक जन्मसिद्ध नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तानका लागि मात्र हो,’ उनले भने, ‘७ वर्ष गर्ने कि, १० वर्ष गर्ने कि, नगर्ने कि, फेरि सहमति गर्नुपर्छ भनेर डाडिएको हो।’
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकका विषय सबै राजनितिक दलका साझा भएको पनि दाहालको भनाइ थियो। सोही क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठ ९ गते ल्याएको अध्यादेश र संसदले पास गरेको विधेयक जस्ताको तस्तै रहेको पनि उनले बताए।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

