नरेन्द्र मोदीसँगको भेटघाट र छलफल सकारात्मक र अर्थपूर्ण : प्रधानमन्त्री
‘आर्थिक मामिलामा राष्ट्रको दीर्घकालीन हितमा सम्झौताहरू भएका छन् भने राजनीतिक मामिलामा आपसी विश्वास बढाउँदै छलफल र वार्ताद्वारा निकास खोज्ने दिशामा अर्थपूर्ण प्रतिबद्धता व्यक्त भएका छन्।’
काठमाडौं, जेठ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका बारेमा संसदलाई जानकारी गराएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले आफ्नो चारदिने भारत भ्रमणबारे जानकारी दिने क्रममा भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन केन्द्रित रहेको बताए। भारत भ्रमणबारे प्रतिपक्ष दलले प्रश्न उठाएपछि सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले भने, ‘भ्रमण आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनेमा केन्द्रित रह्यो। विशेष गरी आर्थिक मामिलामा राष्ट्रको दीर्घकालीन हितमा सम्झौताहरू भएका छन् भने राजनीतिक मामिलामा आपसी विश्वास बढाउँदै छलफल र वार्ताद्वारा निकास खोज्ने दिशामा अर्थपूर्ण प्रतिबद्धता व्यक्त भएका छन्।’
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट सबैभन्दा महत्त्वपूर्ण भएको बताउँदै व्यापार, ऊर्जा, लगानी प्रवर्धन, ऊर्जा व्यापार तथा अन्तरदेशीय प्रसारणलाइन, सिँचाइ, बाढी, कृषि, रेलवे सेवाजस्ता विषयमा सकारात्मक र अर्थपूर्ण छलफल भएको बताए।
भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति भएको बताउँदै उनले दुईपक्षीय ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाइन निर्माणका विषयमा पनि बलियो सहमति भएको जानकारी दिए। ‘भारतीय प्रधानमन्त्रीले आगामी १० वर्षभित्र १० हजार मेगावाटा विद्युत् खरिद गर्ने सहमति जनाउनुभएको छ। लगानीकर्ताहरूले उत्पादित विद्युतको व्यापार सुनिश्चित हुने भएपछि मात्र लगानी गर्ने भएकाले हामीले विद्युत् निर्यातको सुनिश्चितता खोज्नु आवश्यक थियो,' उनले भने, 'अहिलेको समझदारीले जलविद्युत् क्षेत्रमा थप लगानी हुने विश्वास लिइएको छ।’
प्रधानमन्त्री दाहालले नेपाल भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबान नियन्त्रणका लागि छलफल भएको भन्दै तत्काल द्विपक्षीय संयन्त्रले काम थाल्ने समझदारी भएको पनि बताए।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

