हामी नागिरकता विधेयकको विरुद्धमा छैनाैं तर प्रमाणीकरणको प्रक्रिया मिलेन : लिङ्देन
उनले लामो समय नागरिकता विधेयक प्रमाणीकरण कसैलाई हतार नभए पनि प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभन्दा दुइतीन घण्टाअगाडि किन गर्नुपर्यो भन्दै उनले आश्चर्य जनाए र त्यसमा कुनै न कुनै स्वार्थ लुकेको आशंका गरे।
काठमाडौं, जेठ २१ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा नभएको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रमाणीकरणलाई लिएर भएको विरोधमा समर्थन जनाउँदै उनले राष्ट्रपतिले मन्त्रिपरिषद्को कारिन्दाको भूमिका खेलेको आरोप लगाएका हुन्।
‘राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन, हुन सक्दैन। सिद्धान्तमा हामीले जतिसुकै निष्पक्ष र अभिभावक भने पनि दलको निर्देशनमा चल्छ भनेका थियौं, अहिले त्यही भयो,’ उनले भने।
उनले लामो समय नागरिकता विधेयक प्रमाणीकरण कसैलाई हतार नभए पनि प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभन्दा दुइतीन घण्टाअगाडि किन गर्नुपर्यो भन्दै उनले आश्चर्य जनाए र त्यसमा कुनै न कुनै स्वार्थ लुकेको आशंका गरे।
उनले आफूहरू नागिरकता विधेयकको विरुद्धमा नभए पनि प्रमाणीकरणको प्रक्रिया नमिलेको बताए। गलत कदम नसच्चिएसम्म बैठक बस्न नसक्ने उनले बताए।
'बाउआमा नेपाली नागरिक भएका छोराछोरी नागरिकता पाउनबाट वञ्चित भएका हजारौं नागरिकले नागरिकता पाउनुपर्छ। नागरिकता ऐन संशोधन हुनुपर्छ भन्नेमा हाम्रो कसैको दुई मत छैन,’ उनले भने, ‘जुन प्रक्रियाबाट, जुन समयमा नागरिकता विधेयक प्रमाणित गरियो, त्यसको विरुद्धमा राप्रपा छ।’
उनी रेशम चौधरीको आम माफी पनि कानुनविरुद्ध भएको बताए। उनले प्रश्न गरे, ‘एउटा व्यक्तिलाई अदालतका तीनवटै तहले दोषी प्रमाणित गरेर फैसलाको पूर्णपाठ नआउँदैखेरि आममाफी दिने कुराले कस्तो खालको नजिर बस्छ?’