प्रधानमन्त्रीले माफी माग्नुपर्ने र राष्ट्रपतिले आफ्नो कदम सच्याउनुपर्ने एमालेको भनाइ
संसदलाई छलेर राष्ट्रपतिले असंवैधानिक ढंगले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेको आरोप लगाए। विधेयक प्रमाणीकरणको प्रक्रिया एमालेको असहमति रहेको बताउँदै संसद चल्न नदिने बताए।
काठमाडौं, जेठ २१ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिकाे कदम र प्रधानमन्त्रीकाे भारत भ्रमणप्रति संसदमा विराेध जनाएकाे छ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्नेबित्तिकै एमालेका सांसदहरु आआफ्नो ठाउँमा उभिएका थिए। त्यसपछि सभामुखले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए। सरकारले संविधानको मर्मविपरीत नागरिकता विधेयक ल्याएको प्रमुख सचेतक गिरीले आरोप लगाए।
संसदलाई छलेर राष्ट्रपतिले असंवैधानिक ढंगले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेको आरोप लगाए। विधेयक प्रमाणीकरणको प्रक्रिया एमालेको असहमति रहेको बताउँदै संसद चल्न नदिने बताए।
नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने, नागरिकता बन्नबाट वञ्चितलाई नागरिकता दिनुपर्नेमा दुईमत नभए पनि प्रक्रिया नमिलेको उनले बताए। नयाँ संशोधन प्रस्ताव ल्याएर नागरिकता विधेयक संसदले पारित गरेर प्रमाणीकरण गर्नुपर्नेमा उनले जोड दिए।
गिरीले नयाँ नागरिकता विधेयक दर्ता भएपछि दिनरात छलफल गरेर भए पनि एक साताभित्र पारित गरेर नागरिकता प्रदान गर्ने काम अगाडि बढाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा कालापानी र लिम्पियाधुरालगायत क्षेत्रका बारेमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको छ। प्रधानमन्त्रीले माफी नमागेसम्म र राष्ट्रपतिको कदम नसच्चिएसम्म सदन चल्न नदिने एमालेको भनाइ छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

