‘शरणार्थी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानका आधारमा न्यायालयले फैसला गर्छ’
उनले प्रहरीले गरेको अनुसन्धानका आधारमा न्यायालयले आवश्यक फैसला गर्ने बताए।
काठमाडाैं, जेठ २० : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा पीडितलाई न्याय दिने गरी भएको अनुसन्धानलाई खेर जान नदिने स्पष्ट पारेका छन्।
छुवाछूत मुक्तराष्ट्र घोषणाको १७ वर्षको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्को देशमा पठाई सम्पत्ति आर्जन गर्नेहरुमाथि स्वतन्त्र, निष्पक्ष रुपमा अनुसन्धान भएको भन्दै अनुसन्धानलाई खेर जान नदिने स्पष्ट पारेका हुन्।
उनले प्रहरीले गरेको अनुसन्धानका आधारमा न्यायालयले आवश्यक फैसला गर्ने बताए। सरकारको प्रमुख कार्यभार र लक्ष्य सुशासन भएको भन्दै गृहमन्त्री श्रेष्ठले सुशासनविरुद्ध लाग्ने कसैलाई पनि छुट नदिने धारणा राखे। श्रेष्ठले नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशीको हातमा जान सक्ने भएको राष्ट्रिय परिचयनपत्र सरकारी समन्वयनमा नै अघि बढ्ने उल्लेख गरे।
उनले सरुवा बढुवाका लागि सोर्सफोर्स लगाउने आश्वासन दिनेलाई पनि जेल हाल्ने चेतावनी दिए। श्रेष्ठले नेपाली समाजको लोकतान्त्रीकरण प्रक्रियाको ठूलो अभिसापको रुपमा रहेको छुवाछुतलाई सामाजिक अपराधको रुपमा घोषणा गरेर कानूनद्वारा दण्डित गर्ने व्यवस्थालाई सबै मिलेर व्यवहारमा लागू गर्न आवश्यक रहेको र सरकारको तर्फबाट पूर्ण प्रतिवद्धता रहेको जिकिर गरे।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

