रिजालले बयानमा रायमाझी, भण्डारी र दुलाललाई पोले
रिजालले जिल्ला अदालत काठमाडौंमा दिएको बयानमा भण्डारी र दुलाल नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने उद्देस्यले आफूलाई भेट्न आएको उल्लेख गरेका छन्।
काठमाडौं, जेठ २० : नक्कली भुटार्नी शरणार्थी प्रकरणमा पक्राउ परेका शरणार्थी नेता टेकनाथ रिजालले बयानमा एमालेका सचिव टोपबहादुर रायमाझी, विचौलिया भनिएका सानु भण्डारी र केशव दुलालको संलग्नता खुलाएका छन्।
रिजालले जिल्ला अदालत काठमाडौंमा दिएको बयानमा भण्डारी र दुलाल नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने उद्देस्यले आफूलाई भेट्न आएको उल्लेख गरेका छन्।
त्यसपछि रिजालले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटाउन भनेको बयानमा उल्लेख छ। उनीहरुले त्यसपछि रिजाललाई काठमाडौं ल्याएर टोपबहादुर रायमाझी समक्ष भेटाएको पनि बयानमा खुलाइएको छ।
रायमाझीसँगको भेटपछि आफु, रायमाझी, भण्डारी र दुलाल एकसाथ प्रचण्ड निवासमा पुगेको समेत बयानमा खुलाइएको छ। प्रचण्ड निवासमा रायमाझीले भण्डारी र दुलाललाई प्रचण्डसँग चिनजान गराइदिएको र आफुले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको बताएको रिजालले बयानमा भनेका छन्।
त्यसपछि प्रचण्डले आफु त्यस दिन एकदमै व्यस्त रहेकाले रायमाझीसँग सबै कुरा गर्न भनेको पनि रिजालले बयानमा उल्लेख गरेका छन्। रिजालको कुराकानी सम्बोधन हुनसक्ने भए समाधान गर्न भनेको पनि बयानमा खुलाइएको छ।
प्रचण्डसँगको भेटपछि भण्डारी र दुलालमाथि शंका लागेको रिजालको भनाइ छ।
त्यो भेटपछि भण्डारी र दुलालले आस्वासन दिए अनुरुप आफ्नो रोकिएको सुविधा पनि सुचारु भएको उनले बताएका छन्। यस्तै त्यो भेटपछि भुटानी शरणार्थीबारे निर्णयहरु पनि हुन थालेकोे बयानमा खुलाइएको छ। रिजालले त्यसपछि उनीहरुले भने जस्ता काम हुने रहेछ भन्ने विश्वास लागेको पनि बयानमा उल्लेख गरेका छन्। ‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ,’ रिजालले बयानमा तीनजनालाई यसरी पोलेका छन्।
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले भुटानी शरणार्थी प्रकरणमा आफू विरुद्ध लागेको अभियोगको प्रतिबाद गर्दै बयानमा ‘राज्यले रचेको षडयन्त्र’ भनेका छन्। आफ्नो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउने नियोजि षडयन्त्र रहेको खाणको जिकिर छ। यस्तै ठगी गिरोहका योजनाकार भनिएका केशव प्रसाद दुलालसँग आफ्नो चिनजान नभएको पनि खाणले बताएका छन्। बयानमा खाणले न्यायको याचना पनि गरेका छन्।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

