प्रधानमन्त्री दाहाल इन्दौरबाट नयाँदिल्ली प्रस्थान

इन्दौर (मध्यप्रदेश), जेठ २० : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन्।
इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गर्नुभयो। उहाँले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका थिए।
सो क्रममा मुख्यमन्त्री चौहानले भारत–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरु तयार रहेको बताए। उनले भारत र नेपालबीच सदियौं पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए।
प्रधानमन्त्री दाहालले आजै इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरे। सो क्रममा उनले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरे। प्रधानमन्त्री दाहालले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोपेका थिए।
प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशको इन्दौर पुगेका थिए। इन्दौरमा रहँदा उनले उज्जैनस्थित श्री महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नुभएको थियो। उहाँले इन्दौरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेका थिए।
सो क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराउएका थिए। स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमुनायोग्य मानिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गरेका थिए।
प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशका मुख्यमन्त्रीले आयोजना गरेको रात्रिभोजमा सहभागी भए। प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कने कार्यक्रम छ। उनी यही जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका थिए।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

