भुटानी शरणार्थी प्रकरण : बयान सकियो, आइतबारबाट थुनछेक बहस
शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको अन्तिम बयान भएको थियो।
काठमाडौं, जेठ १९ : नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सबै प्रतिवादीको बयान सकिएको छ।
पक्राउ परेका १८ अभियुक्तको बयान सकिएका कारण अब आइतबारबाट थुनछेक बहस हुने छ। शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको अन्तिम बयान भएको थियो।
जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान सुरु भएको थियो। स्रोतका अनुसार बयान दिनेमध्ये खाणले आफुविरुद्धको आरोप इन्कार गरेका छन्। भुटानी शरणार्थी नेता रिजालले भने नक्कली भुटानी बनाएर अमेरिका लैजान खोजिएको पोल खोलेका छन्। तर आफु भने उक्त प्रकरणमा संलग्न नरहेको बयान रिजालले दिएका छन्।
नक्कली भुटानी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिलले जेठ १० गते ३० जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो। ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधको अभियोग उनीहरुविरुद्ध छ।
उक्त प्रकरणमा १८ अभियुक्त हिरासतमा छन्। थुनछेकसम्बन्धी वहशपछि यी प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेख तोक्ने भनेर निर्क्याेल हुनेछ। यो मुद्दामा प्रतिवादीका कानुनव्यवसायी धेरै रहेका कारण अदालतले इजलास व्यवस्थापनमार्फत चाँडो निर्णय प्रक्रियामा लैजाने तयारी गरेको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

