Kathmandu Press

विपन्नकाे निःशुल्क उपचार नगर्नेलाई कारबाहीकाे चेतावनी

बेड विवरण वेबसाइटमा राख्न निर्देशन दिँदै उनले विवरण झुटा साबित भए अस्पताल कारबाहीको भागीदार हुने बताए।
विपन्नकाे निःशुल्क उपचार नगर्नेलाई कारबाहीकाे चेतावनी

काठमाडौं, जेठ १९ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन्।

आज (शुक्रबार) सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमनका क्रममा उनले अस्पताल सञ्चालनको स्वीकृति लिँदा १० प्रतिशत निःशुल्क उपचारको सम्झौता हुने गरेको स्मरण गराए। उनले विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण मन्त्रालयलाई बुझाउन निर्देशन दिए। 

‘जसले सम्झौताअनुसार सेवा दिएको छैन,’ उनले भने, ‘कानुनी परिधिभित्र रहेर हामी कारबाही गर्छौं।’ मन्त्री, सांसद वा नेताहरूले सिफारिस गर्दा बेड पाउने, नत्र नपाउने अवस्था अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए।

उनले गंगालाल अस्पतालमा रहेका उपकरणहरुको प्रयोग, बिरामीलाई दिईने सुविधा र उपचारको व्यवस्थाका बारेमा जानकारी लिए र उपचारका लागि आएका विरामीहरुसँग कुराकानी पनि गरे।

उनले यसअघि दिएको निर्देशनअनुसार अस्पतालको सेवाको सुधार देखिएको बताए। विभिन्न अस्पतालहरुमा गुणस्तरिय सेवा नभएको गुनासोलाई अन्त्य गर्ने लक्ष्यका साथ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको उनले बताए।

मन्त्री बस्नेतले सरकारी र निजी अस्पतालको उपचारको सेवा शुल्कमा एकरुपता ल्याउन पहल गरिने बताए।बेड विवरण वेबसाइटमा राख्न निर्देशन दिँदै उनले विवरण झुटा साबित भए अस्पताल कारबाहीको भागीदार हुने बताए।

प्रकाशित मिति: १५:३४ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्