Kathmandu Press

प्रधानमन्त्री दाहाल भने– नागरिकता विधेयक प्रमाणीकरणकाे विषय मेरो भारत भ्रमणसँग नजोडियोस्

प्रधानमन्त्री दाहालले आफूले यसअघि नै नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले नै प्रमाणीकरण गर्नुपर्छ भनेको तर संयोगले आफू भारत भ्रमणमा जानेबेलामै राष्ट्रपतिले प्रमाणीकरण गरेको बताए।
प्रधानमन्त्री दाहाल भने– नागरिकता विधेयक प्रमाणीकरणकाे विषय मेरो भारत भ्रमणसँग नजोडियोस्

काठमाडाैं, जेठ १९ : प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरण र आफ्ना भारत भ्रमणलाई जोडेर नहेर्न आग्रह गरेका छन्। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु र आफ्नो आफ्नो भारत भ्रमण एकैदिन हुनु संयोग मात्र भएको उनले बताए।

शुक्रबार बिहान नयाँदिल्लीमा नेपाली पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले यसअघि नै नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले नै प्रमाणीकरण गर्नुपर्छ भनेको तर संयोगले आफू भारत भ्रमणमा जानेबेलामै राष्ट्रपतिले प्रमाणीकरण गरेको बताए।

उनले भने, ‘मेरो भारत भ्रमणसँग यो विषय नजोडियोस् भन्ने मेरो चाहना थियो । तर त्यो संयोग हो।’

यस्तै, प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को प्रतिवेदनको विषय उठाएर माहोल बिगार्नतर्फ आफू नलागेको बताएका छन्। महोल बन्नेभन्दा थप बिग्रनसक्ने स्थिति देखेकाले इपिजीको विषय उठाएर माहोल बिगार्नतर्फ नलागेको उनले बताए ।

‘ईपीजीको विषय उठ्दै उठेन‚ उठाएर माहोल बिगार्नतिर पनि लागिएन। यो कुरा उठाएको भए माहोल बन्दैन थियो । फेरि यसैलाई उठाएर हुने कुरा पनि किन बिगार्ने भन्ने भयो,’ उनले भने ।

इपिजीको विषय नेपालमा आफूले गम्भीरतापूर्वक लिएको बताउँदै यो विषयमा विवाद गरेर सबै काम अड्काएर राख्नुभन्दा फुकाउने काम फुकाउँदै जानेतर्फ आफू लागेको दाहालले बताए । पछि वातावरण बनाएर यो इपिजी पनि एउटा विन्दुमा गएर सम्बोधन हुने बताए।

आफ्नो भ्रमणले नेपाल–भारतबीच रहेका विभिन्न समस्याहरूको विकल्पहरूबारे सोच्न सुरु भएको भन्दै सीमा विवादबारे पनि सकारात्मक संवाद सुरु भएको उल्लेख गरे । उनले भने‚ ‘सीमा विवादलाई राखिराख्ने हो भने त कहिले सुल्झिने भएन भन्ने भयो । त्यसकारण पनि हिजोबाट सकारात्मक संवाद सुरु भयो ।

समग्रमा भ्रमणको परिणाम सकारात्मक आएको भन्दै प्रधानमन्त्री दाहालले अब राम्रो मोमेन्टम लिएर अघि बढ्न सबैलाई आग्रह गरे।

प्रकाशित मिति: १०:४० बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्