Kathmandu Press

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल

नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।
ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ १९ : चार दिने भारत भ्रमणमा रहैका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताए। नयाँ दिल्लीमा शुक्रबार बिहान बिहान नेपाली सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए।

नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।

‘जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ,’ उनले भने, ‘नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो।’

महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिए। उनले भने, ‘यीलगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्वपूर्ण रह्यो, प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो।’

प्रधानमन्त्री दाहालले आफ्नो चाहना देशभित्रै बिजुली खपत बढाउने भएको तर बेच्ने कुरा पनि सकारात्मक भएको बताए । बिजुली व्यापारमा हिजो भएको समझदारीले ठूलो लगानी भित्रिने आधार तयार भएको उनले बताए ।

बिहीबार हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् लिन तयार रहेको प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा ४८० मेगावाट क्षमताको फुकोट कर्णाली र ६६९ मेगावाट क्षमताको तल्लो अरुणको निर्माण सम्झौता भएको छ।

भारतीय कम्पनी सतलज जलविद्युत् निगमले तल्लो अरुण आयोजना र एनएचपीसी लिमिटेडले फुकोट कर्णाली बनाउने सम्झौता भएको हो ।

प्रकाशित मिति: ११:२८ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्